मेरा सृजनाका बारेमा पाठकलाई जानकारी

कुनै समय मेरा लागि साहित्य रचना गर्नु खुब रहरको विषय थियो । कक्षा ४ देखि कक्षा ७ सम्म मैले यति धेरै साहित्य सृजना गरेछु कि, आज म गन्ति गरेर सक्दिन । तर, अभाग्यवस, यी मध्ये थोरै मात्र आज मसंग बाँचेछन । धेरै त कविता लेखे – गद्य होस वा पद्य । साहित्य के हो र यसका नियम के हुन, मलाई थाहा थिएन, तथापि साहित्य सृजनाको चाङ नै तयार भएछ मसंग । कम्प्युटर मेरा लागि दूरदराजको कोरा कल्पना जस्तो मात्र थियो भने पुस्तक प्रकाशनको त थिएन । एक त कलिलो टीठो त्यसमाथि पैसाको करा – न मैले देखेको थिए, न मेरो परिवारले । अनि पुस्तक प्रकाशित गर्दैमा मेरा लागि के हुन्छ? यि अन्धकारले मेरा अधिकांश सृजना हराएछन । कक्षा ७ देखि सेभ द चिल्ड्रे ले सञ्चलन गरेको बाल अधिकार मञ्चमा काम गर्न थालेपछि सृजना तर्फका पाईलाहरु मेटिन थालेछन् । आज मात्र थाहा पाउँदैछु ।

कक्षा ९ बाट बालमञ्च छाडियो र एच आइ भी स्वयम सेवकको रुपमा काम गर्न थालियो । यसै समयमा बेलायतको एक गैर सरकारी संस्थाले रिपोर्ट कसरी लेख्ने भन्ने तालिम सञ्चालन गर्‍यो । वास्तवमा यो पत्रकारिताको तालिम थिएछ । कारितास नेपाल, जसले शरणार्थी शिविरमा स्कूल सञ्चालन गर्छ, ले पत्रकारिता तालिम दिन मनाहि गरेको रहेछ । युएनएचसीआर ले पनि यस्ता तालिममा प्रतिबन्ध लगाएको पछि मात्र थाहा भो । तर बेलायति संस्थाको सहयोग पछि मलाई पत्रकारिता विषयले तानेछ ।

कक्षा १० को आधा सत्र पूरा गरे पछि म एउटा संस्था खोल्ने कसरतमा जुटें । साथीहरु जुटे र पहिलो संस्थाको नामकरण गर्‍यौं – भुटानी युवा साहित्यिक मञ्च । म उप कोषाध्यक्ष भए । अरु थिए – सुवास आचार्य, डिल्लीराम सर्मा (जसलाई सबैले कवि भनेर चिन्थे), दिनेश राई, सोम आचार्य आदि आदि ।  हामी बेल्डाँगीका गनिएका युवामा पर्थ्यौं । त्यसैले हाम्रो यो प्रयासले त्यसअघि अस्तित्वामा रहेको नेपाली भाषा परिषद भुटान लाई झस्का लागेछ । परिषदको शाखा हुन आग्रह सहितको अनौपचरिक प्रताव आयो, जसलाई हामीले अस्वीकार गर्‍यौं । त्यसपछि परिषद हाम्रो विरुद्ध खुलेरै लाग्यो ।  साहित्यिक गतिविधि निर्वाध रुपमा जानुपर्छ भन्ने मेरो इच्छा थियो । तर यसको प्रवर्द्धन लागेका संस्था नै झगडा गर्ने स्थिति देखा परेपछि हामीले यो संस्थालाई निस्कृय बनायौं ।

त्यसपछिको मेरो यात्रा पत्रकारिता तर्फ फर्कियो । एउटा मासिक पत्रिका सुरु गरें । करिब १७ महिना पछि काठमाडौं हिडेपछि केहि समय मात्र साथीहरुले त्यो पत्रिका सञ्चलन गरेछन । काठमाडौं पसेपछि मेरो सारा जीवन पत्रकारितामा समर्पित भयो जसले मलाई साहित्य साधनाबाट अलग गर्‍यो । त्यस यता थोरै मात्र सृजनाहरु तयार भएछन ।

कमला स्वरुपको सहयोगमा अनेसासमा प्रवेश गरे । हरिहर भट्टराईजीले ठूलो गुण लाउनु भा’छ, मलाई त्यस संस्थाको आजीवन सदस्यता लिन मद्दत गरेर । तैपनि मैले चाहेजति योगदान दिन सकेको छैन, जसका लागि धेरै अफसोच छ ।

धेरै पछि, बचेखुँचेका लेखहरु खोज्दै जाँदा केहि भेटे र तिनलाई यही ब्लगमा संग्रहित गर्ने प्रयास गरेको छु । केहि एकांकीहरु टाइप गर्दै जाँदा मलाई कताकता आफ्नै भाषाप्रोगलाई देखेर खुब हाँस पनि उठ्यो तथापि जसतो सृजना मैले त्यस बेला तयार गरेको थिए, हुबहु यस ब्लगमा राखेको छु । भाषा प्रयोगमा वा विषय वस्तु निकम्मा लागे पनि, कृपया क्षमा दिनुस, यी सृजनाहरु कक्षा ५-७मा पढ्ने विद्यार्थीको कलम हो ।

Leave a Reply