ए परदेशी !
Posted On December 10, 2002
डिल्लीराम शर्मा आचार्य
तिम्रो सम्झनामा मात्र बाँचेकी छु म
सपनीमा मात्र आइदिन्छौ
हिजोका हाम्रा ती दिनहरुका सम्झनाले
मेरो अङ्ग प्रत्याङ्ग रसाइदिन्छ
म तिमीलाईं नै पर्खिरहेकी छु
भाग्यले कस्तो मिलन गराइदिन्छ।
ए परदेशी !
हिजो तिम्रा हातले समातेका ठाउँहरु
आज पनि जर्जराइरहेका छन्
तिमीले चुमेका यी मेरा ओठहरु
आज लाली गुराँस झैं
राताराता हुँदै गएका छन्
ए परदेशी !
तिमीले मलाई छोड्ने रातको
केवल सम्झना मात्र आएको छ
कति वसन्त आए यहाँ
रङरङका फूल कोशेली लिएर
समयको गतिसंगै फुलेको छु म पनि
वसन्तको फूल झैं अङ्ग अङ्ग फक्रिएर
ए परदेशी !
सपनीमा मात्र तिमी भिजाउन आइदिन्छौ
तृषनाले तड्पिन्छु म विपना पो हो कि भनेर
टोलाउछु एकान्तमा कपि कलम हात्मा लिएर
जून तारा जिस्क्याउछन्
आकाशमा झुण्डिएर।