ए! सुन, सुन फेरि सुन
Posted On April 7, 2004
डिल्लीराम शर्मा आचार्य
ए! सुन,सुन फेरि सुन
मुख छ भन्दैमा जेसुकै नबोल
देश र जनताको हीतहुने कुरा बोल
आँखा छन् भनेर ओठको लाली,
नाङ्गा तिघ्रा र खुल्ला छाती मात्र नहेर,
शोषण,दमनबाट चिरिएका
हृदय भित्र पसेर हेर।
खुट्टा छन् भन्दैमा जतसुकै नटेक
दुईपाइला भए पनि पूर्वपट्टि फर्कएर टेक
कलम छ भन्दैमा जेसुकै नलेख
राष्ट्रिय प्रेम,जातीय अस्तित्व र
शहीदहरुको इतिहास लेख।
हात छन् भन्दैमा जहाँ सुकै समाउन नखोज
जहाँ समाउँदा तिम्रो अस्तत्व र
राष्ट्रिय अश्मिता बच्छ
त्यहाँ मात्र समाउन खोज।
कान छन् भन्दैमा जेसुकै नसुन
आर्तनादहरुको चित्कार सुन
अनि राष्ट्रिय प्रेमका गाथा सुन
ए! सुन, सुन फेरि सुन !!