भुटानी खुसीको रामकहानी
आईपी अधिकारी
पाँचौं राजाको राज्याभिषेक खुसियाली समाप्त नहुँदै भुटानले एउटा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्यो । जहाँ अब कसरी खुुसी रहने भन्ने विषयमा छलफल भयो । केही वर्षदेखि चर्चामा आएको ग्रोस नेसनल हयाप्पिनेस -जीएनएच) अर्थात् बृहत् राष्ट्रिय खुसियालीको व्याख्या-विवेचना गर्ने क्रमको एउटा अर्को शृङखला थियो सम्मेलन ।
९१ जनाको सहभागिता र ४३ वटा कार्यपत्र प्रस्तुत भई छलफल भएको तीनदिने सम्मेलनमा भुटानभित्रकै जनता कति खुसी छन् भनी खोज्ने प्रयास भने भएन । सम्मेलनको चौथो संस्करणसम्म आइपुग्दा भुटानले आयोजना गर्ने यस्ता भेलाले खुसी मापन गर्ने सतही सैद्धान्तिक व्याख्यामात्र गर्नसकेको देखिन्छ । त्यसलाई कसरी प्रयोगात्मक बनाउने न बहस भएको छ, न प्रयास नै । सतही व्याख्या यसकारण भएको छ भन्न सकिन्छ, सम्मेलनले खुसी मापन गर्ने दुईवटा पक्षलाई मात्र विशेष महत्त्वसाथ उठाएको छ । त्यसमध्ये एक हो, बौद्ध धर्मको प्रचार ।
जीएनएचका व्याख्याताहरूको दाबी छ, खुसीको मूल चुरो बौद्ध धर्म हो । काम, क्रोध, लोभ र मोह त्यागेर ज्ञानको खोजीमा भौंतारिएका बुद्धको त्यो कथालाई खुसी आर्जन गर्ने अद्वैतमार्गका रूपमा प्रस्तुत गर्न खोजिएको छ । तर यी विद्वानले भनेजस्तै भौतिक सुख र सांसारिक जीवनलाई सजिलै त्याग्नसक्ने वातावरण आज छैन । सर्वेक्षणहरूले भने अधिकार र स्वतन्त्रता अहिलेको समाजनिम्ति खुसी रहने आवश्यक तत्त्व ठहर्याएको देखिन्छ ।
जीएनएचका व्याख्याताले विशेष रूपमा उठाउने अर्को विषय हो, वातावरणीय संरक्षण । सन् १९९० को दशकको मध्यतिर भारत र अष्ट्रेलिया सरकारको सहयोगमा दक्षिण भुटानबाट मानवबस्ती उखेल्न भारतीय सीमाबाट एक किलोमिटर फराकिलो गि्रन बेल्टको प्रताव अघि सारिएको कतै छिपेको छैन । अष्ट्रेलिया सरकारले हात झकिेपछि यो योजना कार्यान्वयन त भएन, तर भुटानका शासकले त्यसयता त्यो कुत्सित प्रयासलाई वैधानिकता दिन वातावरण संरक्षणको विषयलाई निरन्तर उठाउँदै आएका छन् । तथापि कालान्तरमा यसले भुटानलाई वातावरण संरक्षणमा दिलोज्यान दिएर लागिपर्न बाध्य बनायो । यद्यपि आज भुटानले यस क्षेत्रमा आर्जन गरेको उपलब्धि भने प्रशंसनीय छ । यसै वर्ष जारी गरिएको संविधानमा पनि भुटानको कुल भूभागको ६१ प्रतिशत जमिन जंगल रहनुपर्ने बाध्यकारी प्रावधान राखिएको छ । गतसाल चौथा राजा जिग्मे सिंगे वाङछुकले वातावरण संरक्षणको क्षेत्रमा गरेको योगदानबापत एउटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरे । त्यसपछि भुटानभित्रका राजनीतिज्ञ र विज्ञहरूमाझ यो विषयको चर्चा चरम चुलीमा पुगेको छ । तर भुटानको खुसीको लक्षण नाप्ने संयन्त्रमाथि प्रश्न उठाउने प्रशस्त आधार छन् । व्यावहारिकभन्दा सैद्धान्तिक बहसमा केन्दि्रत रहेको भुटानी राजाको खुसी नाप्ने आन्दोलनले वास्तविक रूपमा भुटानी समाजलाई छुनैसकेको छैन ।
सन् २००६ को एउटा सर्वेक्षणले भुटानलाई विश्वको आठौं खुसी राष्ट्रका रूपमा अघि सार्यो । भौतिक पूर्वाधारको कमी, राजनीतिक चेतनाको अभाव, सञ्चारमा सामान्य मानिसको पहुँच नभएको अवस्था, गरिबीजस्ता अनेकौं समस्याले घेरेको भुटानी समाजमा सहरी क्षेत्रका सीमित वा राजनीतिक प्रभाव पार्ने हैसियत भएका थोरैबाहेक कोही खुसी छ भन्नु हास्यास्पद नै होला ।
खुसी व्याख्या र विवेचनाले होइन, व्यवहारले ल्याउँछ । राजनीतिक संरचना, आर्थिक अवस्था र सामाजिक स्वतन्त्रता मानिसलाई खुसी बनाउने महत्त्वपूर्ण आधार हुन् । आजको भुटानमा यी तीनै आधार तयार छैनन् । राजनीतिक परिवर्तन भएर देश प्रजातान्त्रिक परिपाटीमा प्रवेश गरिसकेको चर्चा गरिए पनि भुटानमा राजनीतिक स्वतन्त्रता पूर्णरूपमा स्थापित हुनसकेको छैन । प्रजातन्त्रका आधारभूत मान्यताहरू व्यवहारमा देखिएको छैन । आज पनि राजनीतिक गतिविधि राजा र राजपरिवार वरिपरि घुमेको छ । यसको अर्थ प्रजातन्त्र आएको हल्ला चलाए पनि राजनीतिक शक्ति दरबारबाट बाहिर निस्कन पाएको छैन, यो वास्तविक प्रजातन्त्रनिम्ति बाधक हो । बालिग मताधिकारबाट निर्वाचित प्रथम प्रधानमन्त्रीको परिवार र राजपरिवारबीच भर्खरै गाँसिएको वैवाहिक सम्बन्धले पनि प्रस्ट पार्छ, भुटानको राजपरिवार राजनीतिक शक्ति आफ्नो वशभन्दा बाहिर नजाओस् भन्ने चाहन्छ । यो नै उसका निम्ति सम्पूर्ण भुटानी जनताको खुसी नाप्ने कडी हो । तर प्रजातान्त्रिक अभ्यासमार्फत जनतामा खुसी छर्ने भुटानी राजाको प्रयासमा ऊ र उसको सरकारका यस्तै व्यवहार कालान्तरमा बाधक भएर देखिनेछन् ।
भुटान विपन्न मुलुक हो । यहाँका २५ प्रतिशत जनता गरिबीको रेखामुनि बाँचेका छन् । विकास गतिविधि गाउँ पुग्नसकेका छैनन् । सन् १९९१ यता एउटा पनि विकास योजना दक्षिण जिल्ला पुगेका छैनन् । विकासमात्र होइन, १९९१ देखि बन्द दक्षिण भुटानका विद्यालय आजसम्म पनि खोलिएका छैनन् । अभिभावकलाई आतंकवादको आरोप लागेको छ, तर बच्चालाई पढ्नबाट वञ्चित गराइएको छ । अनेकौं मानिसलाई सरकारी जागिरबाट निकालिएको मात्र होइन, निजी व्यवसाय सञ्चालनमा पनि रोक लगाइएको छ । यसले मानिसको आर्थिक अवस्था अरू कमजोर पारिदिएको छ । त्यस विपरीत भुटान सरकार देशमा गरिबीको संख्या घटेको देखाउँदैछ । यसर्थ भुटानका राजाले खुसी नाप्ने उनको त्यो मन्त्र छाया दिने महलमा बसेर होइन, गरिबीले पिसोल्टिएका जनताको झुपडीमा बसेर तयार पारेको भए देशमा वास्तविक खुुसी कसरी ल्याउने भन्ने चुरो फेला पथ्र्यो कि Û
सामाजिक स्वतन्त्रता मानिसलाई खुसी राख्ने अर्को तत्त्व हो । आफ्नो धर्म मान्न पाउनु, आफ्नो संस्कृति निर्वाध पालना गर्न पाउनु खुसी उपार्जन गर्ने स्रोत हुन् । तान्त्रिक बौद्ध धर्म -माहायना अन्तर्गतको ड्रुक्पा काग्युक्पा) लाई ब्युँताउने अभियानमा लागेका भुटानका धर्मभीरुहरूले अन्य धर्मावलम्बीमाथि यस्तो दमनचक्र चलाए कि त्यसले शदीयौंदेखि स्थापित सामाजिक सद्भावलाई क्षत-विक्षत पारिदियो । त्यसमा मल्हम लगाउने काम अहिलेसम्म सुरु भएको छैन, जसविना भुटानी समाजमा खुसीको सञ्चार भर्न निकै कठिन पर्ने देखिन्छ ।
भुटानी शासकहरूले सन् १९९१ मा प्रचलनमा ल्याएका अनेकौं नीति र कानुनहरूले ध्वस्त पारेको यस देशको बहुभाषिक र बहुसांस्कृतिक समाजमा सामाजिक सद्भाव पुनःस्थापन गरी खुसी रोप्ने काममा विलम्ब गरे शासकहरूलाई नै घातक हुने देखिन्छ । अहिलेकै योजना र शैलीमा भुटानका शासक चलिरहे यस देशले सामाजिक एकता कहिल्यै कायम गर्नसक्ने छैन । बन्दुकको नालमुनि बोल्न नसकी कुण्ठा पालेर जनता राजाका अघिल्तिर लम्पसार पर्नु नै सामाजिक एकता कायम भएको र भुटानका सबै जनता खुसी छन् भनी हल्ला गर्नु भुटानी राजाको मुख्र्याइँ हो, अनि उनैले निकालेको बृहत् राष्ट्रिय खुसियालीको सिद्धान्तको नै उपहास ।
अनुसन्धानले देखाएका छन्, प्रजातान्त्रिक परिपाटीमा धेरै मानिस खुुसी रहन्छन् । तर निर्वाचनमार्फत सरकार गठन गर्नु नै प्रजातान्त्रिक पद्धतिको उच्चतम विन्दु होइन । मानवअधिकार र प्रेस स्वतन्त्रताको प्रत्याभूति अनि आर्थिक- सामाजिक न्याय प्रदान गर्नुसमेत प्रजातन्त्रको लक्ष्य हो । सामाजिक सद्भाव र भ्रातृत्वको विकास गर्न यिनको आवश्यकता पर्छ, जहाँबाट एउटा खुसी समाजको जन्म हुनसक्छ । अहिलेसम्म यसतर्फ भुटानको नजर गएको देखिँदैन । मानवअधिकार रक्षार्थ एउटा पनि संयन्त्र स्थापना गर्न नसकेको भुटानले यसभित्र जेलिएका अनेकौं समस्याको न्यायोचित उत्तर देला र खुसी समाजको स्थापना गर्ला भन्ने आशा भ्रममात्र हुनसक्छ ।