भोटे र भुटान

आईपी अधिकारी

यसपाला बङ्गलादेश भ्रमणक्रममा क्यानाडाका एक मित्र स्टेफन ब्रुक्ससित परिचय भयो । २६ वर्षे यी युवकले ४३ देश घुम्न भ्याएका रहेछन् । उनी भुटान पनि पुगेका रहेछन् । हालका भुटानी प्रधानमन्त्री जिग्मे थिन्लेकी छोरी पेमसित राम्रो मित्रता रहेको बताउने यी मित्रले आफूलाई भुटानको राजनीतिबारे निकै थाहा भएको सुनाए । भुटानका केही वरिष्ठ व्यक्तित्वहरूसँग परिचय रहेको सुनाए पनि यिनले थिम्पुका ठिटाहरूसित खिचेको फोटोमात्र देखाए । पहिलो भेटमै ब्रुक्सले भुटानको सामाजित अवस्थितिबारे निकै कथा सुनाए र प्राकृतिक रूपमा त्यो देश आफूलाई खुब मनपर्ने बताए ।

म पनि भुटानी हुँ भन्दा यिनलाई पत्याउन गार्‍हो भइरहेको थियो । ‘भुटान बौद्ध धर्मावलम्बी र तिब्बती मूलका मानिस बस्ने देश हो’, उनले सुनाए । थिम्पुमा रहँदा एक दुई जनामात्र नेपाली मूलका मानिस देखेका यिनले भुटानका नेपाली भाषीसित परिचय गरेका रहेनछन् । केही बेरमा उनले थपे, ‘मैले भेटेको तपाईं पहिलो नेपाली बोल्ने भुटानी हो ।’ भुटानमा नेपाली भाषी छैनन् भन्ठानेका यिनलाई मैले हालको मन्त्रिपरिषदका सदस्यको नाम सोधेँ, तर उनी अक्मकाए । भुटानमा गतसाल भएको चुनावपछि उनी गएका रहेनछन् । थिन्ले प्रधानमन्त्री हुन् भन्नेचाहिँ थाहा रहेछ । मैले नयाँ मन्त्रीमण्डलमा नेपाली बोल्ने नन्दलाल राई र ठाकुरसिंह पौडयाल पनि छन् भनेपछि त उनी अवाक नै भए । त्यसपछि हामीबीच भारत र भुटानबीचको सांस्कृतिक सम्बन्धबारे कुराकानी भयो । भारत र भुटानबीच सांस्कृतिक सम्बन्ध नै नभएको भान यिनमा परेको रहेछ । संस्कृति र सामाजिक परम्परा भारत र भुटानमा आकाश-पातालको फरक छ, उनले भने । यी दुई देशका नेताहरू भुटान र भारतबीच शदीयौंदेखि सांस्कृतिक र सामाजिक सम्बन्ध छ भन्छन् नि भन्ने मेरो जिज्ञासामा उनले छोटो उत्तर दिए- राजनीतिक औपचारिकता ।

भुटानले ‘एक देश एक जाति’ नीतिमार्फत देशभित्रका अरू जातिमाथि दमन गरेर विश्वमा एक जाति र एक संस्कृति भएको देश भन्ने परिचय दियो । यसलाई प्रमाणित गर्न उसले दक्षिण भुटानमा कुनै पर्यटकलाई जान अनुमति दिएको छैन । थिम्पु, पारो वा पुनाखाका पहाड, गुम्बा वा छोर्तेनहरूमात्र भुटानका परिचय भएका छन् आज । प्रजातन्त्र आयो, समानता र सहअस्तित्वको संस्कृतिको सुरुवात भयो भन्नुमात्र छ भुटानमा, भोटेबाहेक अरू जाति बस्दैनन् भन्ने सन्देश बोकेका सामग्रीमात्र विदेशमा छरिएका छन् ।

गतवर्ष राजकुमार जिग्एल वाङ्छुक आफैं सहभागी थिए, अमेरिकामा भएको भुटानसम्बन्धी एक प्रदर्शनीमा । त्यहाँ भोटे संस्कृति र बौद्ध धर्मबाहेक कुनै विषयमा चर्चा भएन । नत प्रतिनिधिमण्डलमा कुनै नेपालीभाषी नै समावेश गरिएका थिए । प्रदर्शनीमा राखिएका वस्तु वा देखाइएका नाच, कुनै पनि सामग्रीले भुटानमा भोटे बाहेकका जाति छन् भन्ने सन्देश दिइरहेको थिएन । २००८ को संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानेक्रममा न्युयोर्कमा प्रधानमन्त्री जिग्मे थिन्लेले भुटानसम्बन्धी अर्को प्रदर्शनीको उद्घाटन गरे । यसमा पनि भुटानलाई भोटे र बौद्ध धर्मावलम्बीको देश भनेर नै चिनाइयो ।

क्रिश्चियन धर्मलाई त घोषित रूपमै दमन गरिएको थियो र छ । हिन्दू र बौद्ध धर्ममात्र मान्न पाइने निर्णयहरू पुरानो संसदले गरेको थियो । तर गतसाल जारी गरिएको संविधानमा हिन्दू धर्मसम्बन्धी एउटा शब्दसम्म उल्लेख छैन । त्यसो त हिजो पनि र आज पनि भुटानको परिचयका लागि बनाइएका कुनै पनि सामग्रीमा हिन्दू धर्म र नेपालीभाषी सम्बन्धी जानकारी राखिएका छैनन् । अपवाद भनौं, कतै-कतै देशको दक्षिणमा ल्होत्साम्पाहरू बस्छन् र यिनीहरू हिन्दू धर्म मान्छन्सम्म भनिएको पाइन्छ ।

आरएअनलाइन डट कम । यसमा नेपाल, भुटान र स्वीट्जरल्यान्डको इतिवृत्तान्त पाइन्छ । अभाग्यवश यसले पनि भुटानमा नेपालीभाषी र हिन्दू धर्म मान्ने छन् भन्नेबाहेक अरू कुनै प्रमाण दिनसकेको छैन । मैले यसका सम्पादकलाई पत्र लेखेँ- भुटानमा हिन्दू र नेपालीभाषी पनि छन् । त्यहाँ हिन्दू मठमन्दिर छन् । यिनीहरूको आधा संख्या सन् १९९० मा देशनिकाला भए र नेपालमा शरण लिएर बसेका छन् । कृपया भुटानबारे यतिबिघ्न जानकरी दिने तपाईंको साइटमा यो जानकारी पनि राखिदिनुहोला ।

सम्पादकले जवाफ फर्काए- कुनै आधिकारिक निकाय, जस्तै- संयुक्त राष्ट्रसंघबाट जानकारी आए राखौंला । त्यसो भए भुटानसम्बन्धी अरू जानकारी कसबाट लिनुहुन्छ भन्ने मेरो जिज्ञासा मेटाउन उनले एउटा ट्राभल एजेन्सीको नाम लिए । मैले भुटानी शरणार्थीबारे जानकारी दिने संयुक्त राष्ट्रसंघसम्बन्धी साइटका सयभन्दा बढी लिङ्कहरू पठाइदिएँ, तर तिनले आफ्नो वेबसाइट अपडेट गरेनन् । यहाँ पनि भुटानको परिचय भोटे जाति, बक्खु र किरा लाएका मानिस, धर्म कर्म गर्ने ठाउँ गुम्बा र छोर्तेनहरूले नै दिइरहेका छन् । दक्षिण र पूर्वी भुटान चिनाउने न फोटोहरू नै छन्, नत विस्तृत जानकारी नै ।

पाँचौं राजाको राज्याभिषेक र राजतन्त्रको शतवाषिर्कीक्रममा सरकारले राजतन्त्रबारे दर्जनभन्दा बढी पुस्तकहरू प्रकशित गर्‍यो । पुस्तिका र जर्नलहरू त कति हो कति । तर यी सबै प्रकाशनहरूमा नेपालीभाषी र हिन्दू धर्मको नामनिसाना छैन ।

प्रजातन्त्रको बहाल, अधिकारहरूको संवैधानिक ग्यारेन्टी र खुल्ला समाजतिर लम्किन खोजेको भुटानले अन्य जाति र धर्मलाई यसरी नै दबाइराख्न सक्ला त ? बहुल संस्कृति र बहुजाति भएको भुटानको परिचय सधैं यही रहने हो भने प्रजातन्त्र र मानवअधिकार बहाल भएको हौवा किन पिटाउनुपर्‍यो । हिन्दू धर्ममाथि दमनचक्र चलाएर हिन्दुवादी भारतसँग सधैं न्यानो सम्बन्ध राख्न भुटानी शासकहरू सफल होलान् त ?

(kantipur daily, January 20, 2009)

Leave a Reply