कस्तो मान्छे रहेछ?

डिल्लीराम शर्मा आचार्य

समयसंग लाज नमान्ने
समयसंग नाच्न नजान्ने
आज पानी नपरी छाता खोजिरहेछ
ऊ घामसंग तर्किन खोज्दोरहेछ
बादलले छोपेको तारा झैं
ऊ पनि चम्किन लजाउँदोरहेछ
ऊ ता आज सागरबाट साघुरिएर
कुप जत्रो पो भएछ।
रातो बर्षा बर्षिने दिन
सुरा,सुन्दरीतिर मस्त भइरहेछ
सपना हो कि विपना हो यो संसार
ऊ विचेतभइ बर्बराइरहेछ।
बम र बारुदसंग खेल्ने दिन
अँधेरी रातका तारासंग
आज ऊ मस्तभइ खेलिरहेछ।
जवानीको हत्यारो भएपछि
उसको सिर नतमस्तक हुँदै गइरहेछ
उसको विशाल मन संक्षिप्तहुँदै गएकोले
जवानीमा नाटकीय परिवर्तन भइरहेछ।
ऊ असन्तुष्ट र कुन्ठित आत्मा बोकेर
आज यस धर्तीमा लर्खराइरहेछ
बाच्ने इच्छा नहुँदा पनि
ऊ मर्न भने डराइरहेछ ।

Leave a Reply