पुर्स्थापना पछिको दायित्व

रहरले हैन, धेरै भुटानी शरणार्थीहरुले बाध्यताले नेपाल छाडे । दुई दशक भुटान, भारत र नेपाल सरकारको आशमा बाचेपछि पनि भविष्य अन्धकार हुदै गएको देखे पछि तेस्रो मुलुक पुनर्बास भुटानीले रहरले रोजेका हैनन । प्रस्ताव आएको कैयौ महिनासम्म सिंगो समुदाय नै प्रस्तावको विपक्षमा उभिनु त्यसको दरिलो प्रमाण थियो । तथापि परिस्थितिले जन्माएको तेस्रो मुलुक पुनर्स्थपनाले भुटानीको भलो नै गर्ने देखिन्छ । यसले प्रवासी भुटानीको हार भएको छैन ।

दुइ दशकसम्म कचल्टिएर रहेको यो समस्याको समाधान नेपालबाट सम्भव थिएन र अब छैन पनि । विश्वको भू-राजनीतिक परिस्थितिका कारण विश्वका शक्ति राष्ट्रहुरुले पनि भुटानलाई शरणार्थी फर्काउन दबाब दिन सकेका छैनन् । नेपाल आफ्नो समस्याबाट तंग्रदा शरणार्थी समुदाय उसको पकडभन्दा बाहिर जाने पक्का थियो । देशको अस्थिर राजनीतिले संकटग्रस्त नेपालले शरणार्थीलाई काबुमा राख्न सक्ने अवस्था थिएन । अत: तेस्रो मुलुक पुनर्स्थापनाको प्रस्ताव नेपालका लागि शरणार्थी समस्या समाधानका लागि एउटा अचुक उपाय नै थियो । स्वीकार्नु उसको बुद्धिमानी कदम हो ।

बाध्यताले सात समुद्र पारी जानु पर्ने लामबाट म बाहिर रहन सकिन । काठमाडौंमा पत्रकारिता पेशामा स्थापित भएर जीवन धान्न सक्ने परिपञ्च मिले पनि अष्ट्रेलिया रोज्नै पर्ने अवस्थामा म पुगे । पत्रकार भएर काम गर्दाको जस्तो सुखद अनुभुति मैले नेपालको राजधानीमा बटुले, शरणार्थी हुनुको पीडाले मलाई अरु बढी पोल्यो । जीवनभरी शरणार्थीको बिल्ला भिरेर बाच्नुको विकल्प तेस्रो मुलुक जानु मैले गरेको सही निर्णय हो कि जस्तो लाग्छ । देशप्रतिको माया र दायित्व थाहा हुदा हुदै पनि जीन्दगी भावनात्मक मात्र भएर रहन सक्तैन भन्ने म जस्ता भुटानी शरणार्थीले बुझेका छन् । तेस्र मुलुक पुनर्स्थापना प्यकेजलाई स्वीकार्नु यो एउटा कारण हो ।

भुटानको प्रजातान्त्रिक आन्दोलनमा होमिएकाहरुले पाएको दु:ख र त्यस्ता अनेकौं प्रयत्नहरुले पनि कुनै आश लाग्दो परिणाम निकाल्न नसक्नुले पनि भुटानीलाई विदेश पलायनमा प्रेरणा मिलेको हो । आर के बुढाथोकी, के बी खड्का जस्ता दीग्गजहरुको हत्या भयो, रुपा सुब्बा जस्ता कर्मठ युवाहरुले अल्पायुमै बिदा मागे तर तिनको न कदर भयो, न सम्झना । सामाजिक अवस्था यस्तो दयनीय रह्यो आन्दोलनमा होलिएकाहरुले कारणवश काम फत्ते गर्न सकेनन्, नहोमिएकाहरुले तिनको मुल्याङ्कन गरेनन् । त्यसो त मुल्याङ्कन गर्ने वातावरण पनि त मिलेको थिएन ।

मृत्यु हुनु करिब दुइ महिना अघि मैले सुब्बा सित निकै लामो समय लिएर भुटानको साम्यवादी आन्दोलनका बारे छलफल गरेको थिए । तिनले कैयौं दिन पेटमा पटुका कसेर दक्षिण भुटानका धेरै ठाउँ घुमिछन्, नजानिदो किसिमले साम्यवादी विचारधारा प्रचार गर्ने क्रममा । सरकारको उपस्थिति नपुगेको विकट ठाउँहरुमा उनी पुगेर गाउँलेलाइ पढ्न-लेख्न सिकाएको, वच्चाहरुलाई स्कुल पठाउन उक्साएको कथा मैले तिनको समाज सेवाको उत्कृष्ठ नमुना मानेको छु । चिकित्सकले जे भने पनि रुपा सुब्बालाई क्षयरोगले खाएको हैन, भुटानी आन्दोलनले खाएको हो । मलेरियाले धेरै पटक थला परेको तर आन्दोलनबाट पछि नहटेको मार्मिक घटनाहरु उनको मुखबाट मैले सुनेको छु ।

सुब्बा, बुढाथोकी र खड्का जस्ता धेरै योद्धाहरु जन्मेका छन् भुटानको प्रजातान्त्रिक आन्दोलनका दौरान । हस्त बहादुर देवान लङ मार्चमा मरे, अपिल आन्दोलनका बेला बाबुराम स्याङ्देन र अरु प्रयत्नहरुमा पनि शरणार्थीले ज्यान गुमाएका छन् । तर तिनको सम्झना अरुको भन्दा फरक केही रहेन । आन्दोलनमा लागेका र देश र जनताकालागि केही गर्छु भन्नेहरुलाई हामी बाँच्नेहरुले दिनुपर्ने सम्मान दिन नसकेको कारण नै नया पीडिले आन्दोनतिर मुन्टो फर्काएनन् ।

प्रवासमा आएपछि पनि भुटानी समाजले धेरै पुराना पुस्ताका अनुभवीहरु गुमाएको छ । भुटानको खास इतिहास नयाँ पुस्तालाई सिकाउन सक्ने बृद्ध-बृद्धाहरु विस्तारै विदा हुदैछन् । तिनले जानेको ज्ञान र अनुभाव नेपालीभाषी भुटानीका लागि अचुक इतिहास हो । तिनीहरुबाट हामीले सिक्नु पर्ने समय साघुरिदैछ । आन्दोलनको पृष्ठभुमी भनेको इतिहास हो र साक्षी इतिहासहरुलाई विदा गरेपछि आन्दोलन दरिलो हुन सक्तैन । यस्ता अनेकन अप्ठयाराहरुले भुटानी आन्दोलनलाई समस्याग्रस्त बनाउदैछ । दुई दशक आर्थिक अभावका कारण थला परेको प्रजातान्त्रिक आन्दोलन शरणार्थी समुदाय आर्थिक रुपमा केही सक्षम हुने बेलामा व्युतिन्छ कि भन्ने बेला हामीमाझ नया चुनौतिहरु थपिदैछन् । विस्तार हुदै गरेको तर विभाजित डायस्पोराले यी धेरै चुनौतिहरुलाई कसरी सामना गर्छ, संकेतहरु उत्हसाहजनक देखिएका छैनन् ।

आन्दोलनका बेला ज्यान गुमाएकाहरुको सम्झनाहरु मात्र हैन तिनका सन्तानको पनि यथोचित हेर्चाह नभए हामीले नयाँ पुस्तामा देश र समाजका लागि केही गर्न तयार हुने व्यक्ति पाउने छैनौ । योद्धाहरुका सन्तानले तेस्रो मुलुक रोजेर पनि कैयौ वर्षदेखि थालेको मेलो बिट नमारी नछाडुन भन्नका लागि भुटानी डायस्पोराले योद्धाहरुलाई सम्झनु पर्छ ।

भुटानी प्रजातान्त्रिक आन्दोलन हामी समुद्रपारी गयौ भन्दैमा मर्नु हुन्न भन्ने हेक्का विदेशिएकाले लिएमा त्यसले भुटान भित्र बस्ने तर परिवर्तर हेर्न आतुर जनताका लागि फलदायी हुन सक्छ । बाध्येताले रोजेको भविष्यले देश र त्यहाका जनताको हितमा काम गरोस भन्ने सदिच्छ राखेर काम गरे त्यो नै हाम्रो आन्दोलनको सबै भन्दा ठूलो सफलता मान्नु पर्छ । बाध्येतालाई उपलब्धिपूर्ण बनाउन सक्नु नै भुटानीको बुद्धिमानी ठहर्नेछ ।

Leave a Reply