भुटान प्रजातान्त्रिक भयो रे !

दोस्रो चरणको स्थानीय चुनाव सम्पन्न गरेर प्रजातान्त्रिक प्रणालीलाई मूर्तरुप दिएकोमा भुटानका मन्त्रि र राजपरिवार फुरुंग छन् अहिले । गत सोमबार दोस्रो चरण अन्तर्गत देशका २०५ ब्लक र ख बर्गका शहरमा चुनाव सम्पन्न भयो । ३ लाख ४७ हजार १ सय ३३ मतदाता मध्ये करिब ५५ प्रतिशतले मात्र मताधिकार प्रयोग गरे । तीन वर्ष अघि सम्पन्न आम चुनावमा झण्डै ७५ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

१ हजार ३ छोक्पा, ५ सय ८२ कारबारी र ५ सय ७८ मण्डल सहित २ हजार १ सय ८९ उम्मेद्वार मैदानमा थिए । अझ पनि केही स्थानदा उम्मेद्वार नभएका कारण चुनाव हुन सकेन भने केही ठाउमा एक जना मात्र उम्मेद्वार देखिए । १ हजार १ सय ३ मतदान केन्द्रमा ५ हजार ४ सय ७५ कर्मचारी खटिएका थिए भने २ हजार ९ सय ६५ वटा इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) प्रयोग भएको थियो । यस निर्वाचनका लागि नु. ३० करोड खर्च भएको थियो ।

भुटान यो चुनाव पछि पूर्ण प्रजातान्त्रिक भयो भनिदैछ । चुनाव हुदैमा देश प्रजातान्त्रिक हुने भए त सद्दाम हुनेस पनि प्रजातान्त्रिक नेता नै थिए । बर्मामा सैनिक शासनका बेला पनि चुनाव त भएकै थियो । एशिया र अफ्रिकाका धेरै मुलुकमा यस्तो उदाहरण देखिएको छ जहा चुनाव सम्पन्न गर्दैमा देश प्रजातान्त्रिक बाटोमा जादैन । भुटानको अहिलेको पथ पनि त्यही हो । देशमा प्रजातन्त्र आउनु चुनाव सम्पन्न गरेर मात्र संभव छैन । प्रजातान्त्रिक प्रणालीका कैयौ केस्रा मध्ये एक हो चुनाव । भुटानको नेतृत्ववर्गले यस कुराको हेक्का राख्नु जरुरी छ यदि उनीहरु प्रजातान्त्रिक भुटानको पक्षमा छन् भने ।

भुटानमा त्यो दिन प्रजातन्त्र आएको मानिने छ जुन दिन भुटानका जनता वास्तविक रुपमा सार्वभौम सत्ता सम्पन्न हुन्छन् । जनता सार्वभौम सत्ता सम्पन्न हुने आधार आज भुटानमा प्रचार गरिएको चुनाव मात्र हैन । व्यक्तिगत र सामाजिक विकासका लागि चाहिने सम्पूर्ण आधारभूत अधिकार र सेवा उपभोग गर्न पाएको खण्डमा मात्र जनता सार्वभौम भएको मान्न सकिन्छ ।

बोल्ने अधिकार निमोठिएको देशमा जनता सार्वभौम हुन सक्दैनन् । गत साता पनि सरकारले आयोजना गरेको एउटा पत्रकार सम्मेलनमा संचारकर्मीले मन्त्रिहरुबाट खानु परेको खप्कीले स्पष्ट पार्छ भुटानमा बोल्ने अधिकार कति छ । मन्त्रि, नेता वा सरकारी कर्मचारी कसैको पनि नकरात्मक समाचार प्रकाशित भएको खण्डमा संचारकर्मीले धम्की र हप्की खानु पर्छ । सरकारको आलोचना गरेर कुनै पनि लेख रचना प्रकाशित गर्नु हुन्न । हरेक तीन महिनामा सरकारले पत्रकार सम्मेलन आयोजना गर्छ र यसको अधिकांश समय पत्रकार र पत्रकारिताको आलोनचा गर्नमा खर्चिइन्छ । मन्त्रिहरु पत्रकारलाई धम्क्याउछन् तर पत्रकारले तिम्रो कुरा सुन्दिन भन्दा असभ्य र गैर जिम्मेवार मानिन्छ । पत्रकारले उनीहरुको कुरा सुन्नै पर्छ, गाली सहनै पर्छ । देशको चौथो अंग मानिने पत्रकारिता माथि त सरकार यस्तो आक्रामक छ भने साधारण जनताले प्रजातन्त्रमा बोल्न पाउने अधिकारको उपभोग भुटानमा कसरी गर्न सक्लान् ?

गएको दुइ दशक देशका ५० प्रतिशत बालबालिका पढ्ने अधिकारबाट बञ्चित भए । आज पनि कैयौ बालबालिका यस अधिकारबाट बञ्चित छन् । नया स्कुलहरु खोलिएका छन् तर दक्षिण भुटानमा भने यसको नाममा झारा टार्ने काम भएको छ । स्वास्थ्य सेवामा जनताको पहुच छैन । अधिकांश जनता अस्पताल नदेख्दै मर्छन । देशमा वर्षैभरी औषधीको अभाव हुन्छ । शुद्ध खाने पानी, दैनिक उपभोग्य वस्तुमाथिको पहुच अनि उज्यालोमा बाच्न पाउने अधिकारबाट जनता बञ्चित छन् ।

देशमा हजारौ मेघावट बिजुली उत्पादन हुन्छ । तर जनताले न त्यो बिजुलीको उपभोग गर्न पाउछन् न बिजुली बेचेर आएको पैसाको । बिजुली बेचेर धनी बनेको भुटानमा यसबाट कमाएको पैसा सांसद र कर्मचारीको तलब र भत्ता बढाउदैमा सकिन्छ । विकासको योजनाहरुमा जाँदैन । सरकार विकासका लागि दाताहरुसित भिख् माग्ने अवस्थाबाट माथि उठ्न सकेको छैन । जनताको टाउकोमा प्रतिव्याक्ति नु. ४४ हजार ऋण छ । सांसदहरु ८० हजार तलब खान्छन्, भत्ता र अरु सुबिधा कति हो । कर्मचारी पनि त्यही हाराहारीमा कमाउछन् । आखिर मर्ने त जनता नै ।

सुचना प्रविधिले संसारलाई एउटा गाउँमा परिवर्तन गरिसक्यो । भुटानको ग्रामिण क्षेत्रले एउटा मोबाइल सेवा पनि पाउन सकेको छैन । जिल्लाको सदरमुकाम र यसको आसपास मोबाइल सेवा पुर्याेएर सरकार सबै जिल्लामा संचार सेवा पुर्यासएको डंका पिट्दैछ । इन्टरनेट र इमेल सेवा भुटानका गाउलेले कहिले देख्न पाउने हुन् । सरकार सहरको विकासमा केन्द्रित छ । गाउको उसलाई वास्ता छैन । हालैको एउटा संसद बैठकमा पनि एक मन्त्रिले स्पष्ट भने ‘चाहेर पनि देशको समानुपातिक विकास गर्न सकिदैन । फाइदा शहरमा छ र त्यसको लागि सरकारले काम गर्नु पर्छ’ । उता संविधानले सरकारको जिम्मेवारी भनेको देशको सबै क्षेत्रको समानुपातिक विकास गर्नु हो भनी तोकेको छ । शहरमा बस्ने जनताले जति सुबिधा पाएका छन् ग्रामीण क्षेत्रमा बस्नेलाई पनि त्यसतो सुबिधा पुर्या उनु सरकारको जिम्मेवारी हो । तर सरकार त्यस लक्ष्यमा विचलित छ । सरकार सेवा मुखी हैन, नाफा मुखी छ । सरकार व्यपारी बन्दैछ ।

सरकार रेष्टुराँहरु बन्द गरेर जनताको मनोरञ्जनको अधिकार खोस्दैछ । बैदेशिक रोजगारमा जान जनतालाई रोक्दैछ अनि देशमा वेरोजगारको संख्या बढाउदैछ । तर भारतीय कामदारलाई हजारौको संख्यामा देशमा भित्र्याउदैछ । सरकार जनतालाई व्यापार अनुमतिपत्र दिन हिच्किचाएर आर्थिक अधिकारबाट बञ्चित गराउँदैछ । अनि कैयौ सेवाहरुमा आज पनि जातीय र धार्मीक विभेदका नीतिहरु यथास्थानमा छन् ।

चुनावमै पनि सबै जनताले मत हाल्ने वातावरण बनाउन सरकार असफल भएको छ । इच्छा भएर पनि कैयौले चुनावमा उम्मेद्वार हुन पाएनन् । प्रमाणका आधारमा हैन भावनाको भरमा कसैलाई चुनाव लड्न दिने, कसैलाई नदिने निर्णय गरिन्छ । यसपालीको स्थानीय चुनावमा पनि त्यो देखियो । राजाले पहिले तोकिएको निर्वाचन मिति सारेर आपत्ति गर्न आएका उम्मेद्वारहरुको बारे छिनो फानो लाउन आदेश नदिएको भए सयौले यसपाला उम्मेद्वार बन्न पाउने थिएनन् । राजनैतिक पार्टीको सदस्य भएको आरोप लागेको तिनीहरु राजाको आदेशपछि सबै अराजनैतक हुनु त्यसको प्रमाण हो ।

यसतो पृष्ठभूमीमा भुटानका जनता सार्वभौम भए भनेर विश्वास गर्ने आधार कसरी बन्न सक्छ ? जनता सार्वभौम भएकै छैनन् भने चुनाव गरेकै भरमा भुटान प्रजातान्त्रिक मुलुक भयो भनेर होहल्ला गर्नुको औचित्य के ? चुनाव प्रजातन्त्रको एउटा अंग हो तर सबैथोक हैन । प्रजातन्त्रको मेरुदण्ड सार्वभौम जनता हो । भुटान प्रजातान्त्रिक हुनलाई जनतालाई सार्वभौम बनाउनु पर्छ व्यावहारमा, संविधानमा लेखेर मात्र पुग्दैन ।

Tags:
2 Comments

Leave a Reply