साताको खबर नेपालीमा
भुटानमा हाल भारी बर्षाका कारण बिभिन्न स्थानमा क्षति भैरहेको खबरहरु आइरहेका छन् । राजधानी थिम्पु लाई दक्षिण भुटानलाई जोड्ने उत्तर दक्षिण राजमार्गहरुमा आएको पहिरोका कारण यसता यात ठप्प छ । गेलेफु-चिराङ, फून्छोलिङ-थिम्पु, गेलेफु-जेमगाङ, दइफाम-ट्रासिगाङ लगायत धेरै सडकहरुमा कुनै न कुनै ठाउँ पहिरो आएको छ ।
कैयौ दिन सम्म पनि बाटो खोल्न न सकेका कारण यात्रुहरु अलपत्र परेका छन् । खोलाहरुमा आएको बाढीका कारण कतिपय स्थानमा खेतीमा नोक्सान पुगेको छ । यसै साता खोलाको बाढीले गेलेफुमा एक जनाको ज्यान लियो भने एक जना सिकिस्त अवस्थामा उपचार भैरहेको छ ।
धेरै स्कुलहरु बन्द भएका छन् । भिरोलो जग्गामा भएका कतिपय स्कुलमा पहिरो बगेर पसेको छ भने कतै बाटो नै बन्द भएका कारण बिद्यार्थी आउन सकेका छैनन् । भुटान-नेपालमा गएको केही दिन देखी लगातार बर्षा भैरहेको छ ।
_______________________
संयुक्त राष्ट्र संघको महासभाले खुशीयालीलाई पनि विकासको एउटा मापदण्ड बनाउने प्रस्तावलाई पारित गरेको छ । १९३ सदस्यमा कसैले पनि यसको विपक्षमा भोट हालेन ।
भुटानले यो प्रस्तावलाई अघि सारेको थियो । संयुक्त राष्ट्र संघका लागि भुटानका राजदुत लाटु वाङछुकले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सबैले खुशीसाथ तालि बजाएर समर्थन गरेका थिए ।
यो समाचार पाएका प्रधान मन्त्रि जिग्मे थिन्लेले एक पत्रकार सम्मेलन आयोजना गरी भुटानका लागि यो सबै भन्दा महत्वपूर्ण उपल्बधि भएको बताए । भुटानले संयुक्त राष्ट्र संघमा राखेको यो पहिलो प्रस्ताव हो ।
थिन्लेले संयुक्त राष्ट्र संघको यो निर्णयले संसारले भुटानको Gross National Happiness सिद्धान्तलाऐ स्वीकारेको दाबी गरे । महासभाले प्रस्ताव पारित गरे लगत्तै भुटानले खुशीलाई मापदण्डलाई लागु गर्ने सन्दर्भमा विद्वानहरुलाई तालिम दिन सक्ने बताए । यही अगस्टमा भुटानले Gross National Happiness सम्बन्धि अर्को सम्मेलन आयोजना गर्दैछ । यु एनको मान्यता पछि Gross National Happiness ले अरु बढी चर्चा पाउने अपेक्षा गरिएको छ । तर दशकौ अघि देखि युरोपमा छलफलको बिषय बनेको खुशीयाली मापदण्डलाई यो उचाइमा पुर्याउने भनि हल्ला पिटिए झै भुटानका राजाले यसको क्रेडिट पाउने हुन कि हैनन, हेर्न बाकी छ ।
_______________
बर्षौ सम्म बिद्यालयबाट बञ्चित गराएपछि भुटानले यी निरक्षरहरुका लागि अनौपचारिक शिक्षा लागु गर्यो । तर गाउतिर यसमा पढ्न मानिसहरु आउन रुचाएका देखिएनन् ।
दक्षिण भुटानमा यस्ता निरक्षरहरुको संख्या धेरै भए पनि सरकारले यस्ता अनौपचारिक शिक्षा केन्द्रहरु उत्तर र पूर्वी भुटानमा मात्र सुरु गरेको छ । घरमा बालबच्चा हेर्नु पर्ने भन्दै बाबु-आमा पढ्न आउन मान्दैनन् ।
उदारहणका लागि २००२ मा ट्रासिगाङको साक्तेङमा खोलिएको यसता तीन केन्द्रमा हाल १७ देखि ३० बर्षविचमा ४१ जना मात्र पढ्न आउछन् ।
यसता केन्द्रहरुमा केवल जोङ्कामा मात्र पढाइ हुन्छ । यसको कारण पुर्वी र दक्षिण भुटानका मानिसहरुलाई गार्हो परेको देखिन्छ ।
___________________
सन् २००८ मा थालिएको तेस्रो मुलुकमा पुनर्स्थापना कार्यक्रममा अमेरिकामा मात्र करिब ४१ हजार भूटानी शरणार्थी पुनर्स्थापित भइसकेका छन् ।
अघिल्लो वर्षको सुरुका नौ महिनाको तुलनामा शरणार्थी पुनर्स्थापनामा व्यापक कमी भए पनि भूटानी शरणार्थी अमेरिका आउने क्रममा त्यति कम भएको छैन । सन् २०१० को आर्थिक वर्षको पहिलो नौ महिनामा ५४ हजार बसाइएकोमा यस वर्ष यहि अवधिमा ३० प्रतिशतमा कमी आई ३७ हजारमात्र पुनर्स्थापित भएका छन् । स्टेट डिपार्टमेन्टले पुनर्स्थापनामा ढिलाई हुनुमा सुरक्षाको कारण देखाएको छ ।
सन् २०१० मा १२ हजार ३ सय ६३ भूटानी शरणार्थी अमेरिका आएकोमा यस वर्षको जुलाईसम्म ९ हजारभन्दा बढी पुनर्स्थापित भइसकेका छन् ।
अमेरिकाले राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय, अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन र अष्ट्रेलिया, क्यानडा, नेदरल्याण्ड्स, डेनमार्क, नर्वे, न्यूजिल्याण्ड र बेलायतको सहकार्यमा सन् २००८ सुरूदेखि भूटानी शरणार्थीको पुनर्स्थापना प्रक्रिया सुरू गरेको थियो । पुनर्स्थापित भूटानी शरणार्थीमध्ये ८५ प्रतिशतभन्दा बढी अमेरिकामा बसाइएका छन् ।
अमेरिकाले प्रत्येक वर्ष विश्वभरिबाट करिब ७५ हजार शरणार्थीलाई आवास प्रदान गर्छ ।