लण्डन सम्मेलनमा आएका विद्वानहरुमा विशेष अनुरोध

लण्डनमा अगष्ट २६ र २७ मा अनेसासको आयोजनामा सम्पन्न दोस्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेनमा मेरो बक्तव्य पढेर सुनाइएको थियो । बक्तव्यको पूर्ण विवरण:

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), बेलायत च्याप्टरद्वारा आयोजित नेपाली साहित्यको दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन आउनु भएका सम्पूर्ण साहित्य प्रेमी विद्वतवर्गमा मेरो न्यानो अभिवादन । साथै सम्मेलनको सफलताको लागि शुभाकामना टक्र्याउन चाहान्छु । यो सम्मेलन डायस्पोरामा नेपाली साहित्यको प्रवर्द्धन तथा उत्थानका निम्ति कोषे ढुंगा साबित हुनेछ भन्ने विश्वास लिएको छ ।

लण्डन सम्मेलनमा हामी नेपाली भाषा विकास, प्रचार र प्रवर्द्धनको मन्थन गरिरहदा एशियाकै एउटा मुलुकमा नेपाली भाषा मर्दैछ । त्यहाँको एउटा सिंगो नयाँ पुस्ता नेपाली बोल्न, पढ्न र लेख्न जान्दैन । नेपाली सावा अक्षर चिन्दैन । त्यहाँ घर परिवार भन्दा बाहिर नेपाली बोल्न सक्ने वातावरण छैन । भुटान विश्वको एउटा मात्र त्यस्तो राष्ट्र हो जहा नेपाली भाषा र संस्कृति माथि हमला बोलिदैछ ।

६ बर्ष अघि भुटानको नेपाली साहित्यमा टेवा पुर्याहउने विशुद्ध लक्ष्यका साथ हामीले अनेसास भुटान च्याप्टर खोलेका थियौं । शरणार्थी जीवन जस्तो दयनीय अवस्थामा पनि सयौंको संख्यामा नेपाली साहित्य प्रेमीहरु थिए, कर्मठ र सृजनशील साहित्यकारहरु जन्मिएका थिए । आज त्यो क्रम जारी छ ।

गएको तीन वर्षमा यी अधिकांश साहित्य अनुरागी स्रष्टाहरु पुनर्वास अन्तर्गत पश्चिमा मुलुक आइपुगेका छन् । अरु कैयौं आउने तरखरमा छन् । नेपाली साहित्यको भुटानी भंगालो तिनीहरुसंगै यतै तानिएको छ । यतै आएर पनि तिनको साहित्य प्रतिको लगाव चुडिएन, साहित्य प्रतिको मोह टुटेन । यसको फलस्वरुप साहित्य परिषद भुटान गठन भएको छ । परिषद भुटानको नेपाली साहित्यमा नयाँ आयाम थप्ने जमर्कोमा जुटेको छ – जोडतोडका साथ ।

अनेसास होस या साहित्य परिषद भुटान, हाम्रो लक्ष्य एउटै छ – नेपाली साहित्यको श्रीबृद्धिमा जुट्नु । एउटै भाषा र संकृति बोकेका यी दुइ समुदाय – नेपाली र नेपाली-भाषी भुटानी – का यी दुइ संगठनले केन्द्रीय र क्षेत्रीय स्तरमा पनि संगै मिलेर काम गरे भाषिक आन्दोलनको उचाइ अझ अग्लिने थियो । अनेसासका अध्यक्ष ज्ञानेन्द्र गदाल र परिषदका अध्यक्ष भक्त घिमिरेले यस दिशामा कुनै ठोस र सकरात्मक पाइला चालुन भन्ने मैले आशा बोकेको छु । यसका निम्ति मैले खेलिदिनु पर्ने भुमिका र जिम्मेवारीका लागि सदैव तयार छु ।

अनेसास भुटान च्याप्टरका सबै सदस्यहरु विश्वभर छरिएका छन् । को कहाँ पुग्यो सम्पर्क स्थापित हुन सकेको छैन । म अष्ट्रेलिया आइपुगे भने उपाध्यक्ष डिल्लिराम शर्मा आचार्य नर्वे पुग्नु भएको छ । यसरी छिन्न भिन्न अवस्थामा रहेको अनेसास भुटान च्याप्टरलाई कसरी अघि बढाउन सकिन्छ, यहाँहरुको उपयुक्त सुझावको अपेक्षामा छु ।

नेपालमा रहदा र अष्ट्रेलिया आए पछि पनि मैले व्यक्तिगत रुपमा र संस्थागत रुपमा अनेसासलाई सकेसम्म भुटान भित्रै पुर्यािउने सक्दो प्रयास गरेको छु । भुटानमा भएका नयाँ पुस्ताका कैयौ मित्रहरु जो मेरो सम्पर्कमा छन्, तिनीहरु नेपाली भाषा साहित्यको महत्व र अर्थ नबुझ्ने अवस्थामा छन् । पुरानो पुस्ता हिजोको दमनको धङधङीका कारण ‘नपाली; विषयमा केही गर्न चाहादैन । तै पनि भुटान अहिले विस्तारै खुल्दै जादा अनेसास, साहित्य परिषद भुटान र नेपाली साहित्य आन्दोलनमा लागेका विद्वानवर्गले भुटानमा नेपाली भाषा साहित्यको विज मर्न नदिनका लागि यस आन्दोलनलाई त्यहा छिराउनु पर्ने आवश्यक देखिन्छ ।

साच्चिकै भाषा साहित्यको प्रवर्द्धनको आन्दोलनमा हामी होमिएका हौ भने नेपाली भाषा मर्दै गरेको दृश्यलाई हामी टुलुटुलु हेरिरहन मात्र सक्दैनौं । साहित्यको आन्दोलन हिड्दैछ, पाइला मेट्दैछ हुने छैन भन्ने विश्वास लिएको छु । भुटानमा मृत अवस्थामा रहेको नेपाली भाषा साहित्यलाई पुनर्जीवन दिन यस सम्मेलनले ठोस निर्णय लेओस भन्ने अपेक्षा गर्दै फेरी पनि सम्मेलनको सफलताको विशेष शुभकामना ।

आइ पी अधिकारी
अध्यक्ष
अनेसास, भुटान च्याप्टर
हाल अष्ट्रेलियाको एडिलेड

Leave a Reply