११ भुटानी सहायक प्रशिक्षक टीआईटीआईमा
भक्तपुर, वैशाख २९ – भुटान सरकारले आफ्नो मुलुकका ११ जना सहायक प्रशिक्षकलाई तालिम लिन सानोठिमीस्थित प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई) मा पठाएको छ । भुटानमा रहेको नौवटा प्राविधिक शिक्षालयमा कार्यरत सहायक स्तरका सबै प्राविधिक प्रशिक्षकलाई भुटान सरकारले नेपालमा अध्ययनका लागि पठाउने गरेको छ । यसपटक आएका ११ जना इन्जिनियरिङ संकायका हुन् । उनीहरूले बुधबारदेखि कक्षा सुरु गरेका छन् । प्रतिष्ठानको १२ महिने डिप्लोमा तहको पढाइपछि उनीहरू भुटानका प्रशिक्षक बन्ने प्रतिष्ठानका निर्देशक भवानीशंकर सुवेदीले बताए । भुटान सरकारले अध्ययनका लागि पठाएका उनीहरूले इन्जिनियरिङतर्फको सिभिल, इलेक्टि्रक, अटोमोबाइल, मेकानिकल विषयमा डिप्लोमा तहको प्रशिक्षक कोर्स पूरा गर्ने सुवेदीले बताए ।
आवासीय सुविधासहितका लागि भुटान सरकारले १ लाख २४ हजार डलर दिने गत फेब्रुअरीमा सहमति भएको उनले बताए । प्रतिष्ठानले २० वर्षको अवधिमा तालिम दिएका १५ हजारमध्ये दुई हजार विदेशी छन् । तालिममा सहभागी बलबहादुर गुरुङले नेपालमा अन्य मुलुकमा भन्दा स्तरीय पढाइ हुने बताए । १२ महिने कोर्स पूरा गरेर भुटान फर्केपछि स्वतः बढुवा हुने उनले बताए ।