जिग्मे र हलेसी महादेव
(काठमाडौंमा हुना लागेको तेस्रो सार्क) शिखर सम्मेलनभन्दा एक हप्ताअगाडि भुटानबाट अनपेक्षित अनुरोध आयो । सम्मेलनपछि थिम्पु फर्किनुअगि भुटानका राजालाई खोटाङस्थित हलेसी महादेवको दर्शन गर्ने ईच्छ भएछ । आवश्यक प्रबन्ध मिलाउने दायित्व ममाथि थपियो – म लामिडाँडा थिए। पुर्वाञ्चलका विमानस्थलमध्ये मलाई ज्यादै मन पर्ने ठाउँ लामिडाँडा । फलफूलको बगैचा, मनमोहक दृश्य, शान्त वातावरण, सुविधाजनक अतिथिगृह आदि यसका थप विशेषता हुन् । राती विमानस्थलकै अतिथिगृहमा बिताएर भोलिपल्ट म घोडामा हलेसी महादेवतिर लागे ।
महादेवको मन्दिर पुगेपछि म आश्चर्यचकित भएँ । एउटा ठूलो ओडारको प्रवेशद्वार, चट्टानको भित्तामा गाईको थुनजस्तो मझौला आकारको मुन्टो रहेछ । आश्चर्य! त्यसमा मुख गाडेर फुक्ता ओडारबाट शंखध्वनी घन्कियो । भित्र पस्न लाग्दा पुजारीले बताएअनुसर महादेवबाट पार्वतीलाई वरदानमा पाएपछि लिएर जादै गरेको भष्मासुर मोहनी रुप लिइका भगवान विष्णुको चातुर्यले यही भष्म भएको थियो । महादेवले पहिलो ओडारको छानो फोडेर दोस्रो ओडारमा प्रवेश गरी पार्वतीसंगै बसेको मूर्ति तथा भित्तामा महादेवका ठूलाठूला पाइला देखिन्छन् । हिन्दु र बौद्ध दुवैका लागि यो पवित्र स्थान हो ।
भुटानका राजा जिग्मे दोर्जीका छोरा नजन्मिएपछि निराश भएकी रानीले हलेसी महादेव (जसलाई बोद्धमार्गीहरु भगवान बुद्धको रुपमा पुजा गर्छन्) को प्रार्थना गरेर ‘राजगद्दीको उत्तराधिकारी जन्मिए विधिपुर्वक पुजा गर्ने’ भाकल गर्नुभएछ । त्यसपछि राजा जिग्मे सिंगेवाङ्छुको जन्म भए पनि दुई देशविच कुटनीतिक सम्बन्ध अभावले नेपाल आएर आफ्नो भाकल पूरा गर्न सम्भव भएको रहेनछ । बर्षौं वितेपछि नेपाल आउन लागेका छोरा (राजा) लाई मुमा महारानीले आफ्नो भाकल बताएर हलेसी महादेवको पूजा गर्न अराउनुभएछ ।
साभार: रमेशनाथ पाण्डे, कुटनीति र राजनीति, पृष्ठ २३३-३४