जयन्तिमै बिर्सिइएका भानु

दक्षिण अष्ट्रेलियामा यो साल भानु मौन रहे । यो साल मात्र हैन केही बर्ष यता यहाँ नेपाली साहित्यका विद्वान भानुभक्त बारे चर्चा कम हुन थालेको छ । भानुको मात्र हैन लक्ष्मी प्रसाद र अन्य धेरै नेपाली साहित्यका प्रणेताहरुलाई संझाउने दिवसहरु क्रमश: हाम्रो क्यलेन्डरमा धुमिल बन्दैछन् । कारण अनेकन छन् ।

सदा झै नेपाली पाठशाला र भुटनीज ईथ्निक स्कुलले भानु भक्त बारे बालबालिकालाई जानकारी गराउन औपचारिक कार्यक्रम गरे यो साल पनि । तिनका कार्यक्रम खासमा भर्खरै नेपाली भाषा सिक्दै गरेका कलिला ओठहरुलाई कविताका छोटा हरफ स्पष्टसित ढंग पारेर बोल्न सिकाउनु थियो । आफ्ना छोराछोरीले नेपाली भाषा विर्सने डरमा रहेका अभिभावकका लागि यस्ता कार्यक्रम प्राथकिमता बन्नु अन्यथा पक्का हैन ।

तैपनि नेपाली साहित्यमा कलम चलाउन रुचाउनेहरुले यस दिनलाई पर्व नमान्नु र नमाउनु अनौठो देखिन्छ । हामी हरहमेसा साहित्यमा तल्लिन हुन र सृजनामा समर्पित रहन सक्दैनौ । पेट पाल्नु छ अनि परिवारको हेरविचार पनि गर्नु छ । त्यसपछि बाचेको समय मात्र आफ्नो भाषा र साहित्यका लागि छुट्याउन सकिएला । यो सुक्ष्म समयभित्र नेपाली साहित्यको प्रवर्धनका लागि हाम्रो के देन रहला ।

मेरो बुझाईमा भानु र लक्ष्मी जयन्तिहरु वास्तवमा नेपाली साहित्यको विधा र साधनाबारे चर्चा गर्ने पर्वहरु हुन् । नेपाल बाहिर बस्नेहरुका लगि त झन भानु जयन्ति संस्कृति संरक्षण, भाषा प्रवर्द्धन र साहित्य परिचर्चा गर्ने विशेष पर्व बन्नु पर्ने हो । बिहान आखाँ खोले देखि राती ओछ्यान नपसे सम्म अंग्रेजी नै बोल्नु पर्ने बाध्यतामा बाचेका हामी वर्षमा एक पटक आउने यसता पर्वहरु पनि विर्सदैछौं । यो भानु भक्त वा लक्ष्मीप्रसादलाई हैन हामीले नेपाली भाषालाई हाम्रो सम्पर्कबाट बाहिर हटाउदैछौं भन्ने संकेत हो ।

हामीसित त्यो पुस्ता पनि छ जो आफूलाई नेपाली बोल्न सक्छु भन्ने गर्व छैन बरु आफ्ना छोराछोरीले फररर अंग्रेजी बोलेकोमा गर्व छ । नेपाली सिकेर त्यसको सिप कहाँ काम लाग्छ भन्नेहरुको संख्या मनग्गे छ । यसले नयाँ पुस्तालाई नेपाली भाषा नसिक्नमा प्रोत्साहन दिन्छ, नेपाली भाषा प्रयोगहिन छ भन्ने सन्देश प्रवाह गर्दैछ । हामीले बोल्ने नेपाली भाषा भित्रका मगर, तामाङ, राई, गुरुङ र अन्य कैयन भाषिकाहरु मरिसके यहाँ । यो देश पसेको पहिलो पुस्तामा ती भाषा बोल्नेहरु मुठ्ठीभर होलान् । दोस्रो पुस्तामा ती भाषाहरु रहने छैनन् भने नेपाली भाषा विदेशी बन्ने देखिन्छ ।

यो अवस्थामा नेपाली साहित्यका धुरन्धर विद्वानहरुको संझना गर्नु औपचारिकता हैन, नेपाली भाषा र साहित्यलाई आउने पुस्तामा दरिलो र झरिलो कोसेलीका रुपमा हस्तान्तरण गर्ने मनोविज्ञान हामीमा विकास हुनु पर्छ । विज्ञानले नै पुष्टी गरेको छ हामी जति धेरै भाषाहरु सिक्छौ, हाम्रो बौद्धिक क्षमता त्यही रफ्तारमा परिस्कृत हुन्छ । यसले पनि हामीलाई आफ्नो भाषा प्रतिको लगावमा हौसला दिनु पर्छ ।

नेपाली साहित्यको प्रवर्धन र प्रचारका निम्ति खोलिएका संस्थाहरु दक्षिण अष्ट्रेलियामा गुमनाम नै छन् । यहीबाट सुरु भए पनि अन्तराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण अष्ट्रेलियामा केही वर्षयता शुन्यप्राय छ । यसको उपस्थिति नाममा सम्म देखिएको छैन । साहित्य परिषद भुटानले हालै अमेरिकामा निकै ठूलो कार्यक्रम गर्‍यो तर दक्षिण अष्ट्रेलियामा भने यसको नाम मात्रको उपस्थिति छ । साहित्य सृजना र प्रचारकै लागि भनेर खोलिएका यी र अन्य धेरै संस्थाहरुले त भानु र लक्ष्मी जयन्तिमा नेपाली साहित्यबारे मन्थन गर्ने चासो गर्दैनन् भने व्यक्तिगत हैसियतमा कसले गर्ला ।

पाठशाला र स्कुलमा भएका कार्यक्रमले नयाँ पीडिलाई नेपाली भाषा प्रति चासो त जगाउला तर उनीहरुको त्यो चासोलाई तिखार्न आवश्यक औजारहरु हामीले कहाँ तयार पार्‍यौं । हामी पाठशाला र स्कुलहरुमा बोली बचाउदैछौं तर भाषा हैन । भाषा बाँच्ने आधार साहित्य हो । साहित्य भाषाको क्लिस्ट भाव हो । साहित्यमा आउने प्रखरतले नै भाषाको आयु मापन गर्छ । भानुलाई सम्झन त समय नपाउने हामीले अंग्रेजीको बोलवाला भित्र नेपाली भाषाले बाँच्नु पर्छ भन्न कसरी सक्छौं होला । दोस्रो पुस्ताले नेपाली बोली बुझे भैगो भन्नेका लागि त भानु एक सामान्य व्यक्ति भन्दा फरक नहोलान् तर नेपाली भाषाले यो भूमिमा पनि शिर ठाडो पार्न सक्नु पर्छ भन्ने धेरैका लागि भानु र लक्ष्मी नेपाली साहित्यका पर्याय हुन् । नेपाली भाषाका प्रतिबिम्ब हुन् ।

भानु र लक्ष्मीलाई संझनु व्यक्ति पुजन हैन भाषाप्रतिको सपर्ण हो । भानु र अन्य नेपाली स्रष्टाप्रतिको हाम्रो सम्मान र साहित्यक मन्थनमा हाम्रो आजको देनले भोली नेपाली भाषा अष्ट्रेलियामा कसरी बाँच्छ भनेर निर्धारण गर्नेछ । ‘हामी’ हुनका लागि हाम्रो भाषाप्रतिको हाम्रो लगाव अझ जरुरी बन्दैछ, बन्दै जानेछ । भानु र उनको महत्व अझ तिख्खर बन्नेछ । दक्षिण अष्ट्रेलियामा रहेको सृजनशील मन र नेपाली साहित्य अभियानमा होमिएका संस्थाहरुले नेपाली भाषा बचाउने औपचारिकता मात्र हैन भानु जस्ता युगपरुषलाई साक्षी राखेर गहन साहित्य चिन्तनको समय खर्चिउन भन्ने आशा गर्न सकिन्छ ।

Leave a Reply