पाना पानामा अष्ट्रेलिया
अष्ट्रेलिया बसाईको दशक बित्न लाग्यो, यो देशको छेउकुना नै देखेको छैन । देखेर वा घुमेर साध्ये पनि छैन । कोही बेला सन्दर्भ यस्तो पर्छ कि आफूले गर्न नसके पनि अरुले गरेकै हेरेर मजा लिनु पर्छ । मैले यसरी नै अष्ट्रेलियाको धेरै ठाउँ घुमे -युवराज नयाँघरेको औंला औंलामा अष्ट्रेलिया मार्फत ।
पहिलो मीठो – नियात्राको सरल भाषा । दरिलो साहित्य र पठनीय लेख बन्नलाई क्लिष्ट शब्द र बाङ्गा वाक्य प्रयोग गर्नु पर्दैन भन्ने उदाहरण हो यो नियात्रा । कता कता त लाग्छ यो साहित्यक रचना हैन, पत्रिकाको पानामा छापिन तयार एक आलेख हो । कही कतै भावना बगेको छैन । न शुरु, न अन्त्य, न त कुनै क्लाइमेक्स । सललल बगेको छ – एकै शैलीमा समुद्र जस्तै ।
शान्त शैलीमा गहकिलो भाव बोकेको पुस्तकले यहाँको व्यास्त जिवनशैलीको राम्रो चित्रण गरेको छ । टेकेन्द्रले सिड्नी एयरपोर्टमा घण्टौ कुराएको उदारहण यसको झल्को हो । यसैले होला धेरै नेपालीले पछिल्लो समय आफ्ना छोराछोरीको हेरविचार गर्न नेपालबाट बाबुआमा बोलाउने क्रम बढेको छ । यसको निहितार्थ छोराछोरी हेर्नु मात्र पक्का हैन, यसले पुस्तान्तरलाई जोडेको छ, भाषा र संस्कृतिलाई निरन्तरता दिनमा सहयोग पुगेको छ र विदेशमा बसे पनि आफ्नो पैतृक थलोसितको सम्बन्धलाई ताजा राखेको छ ।
नयाँघरेले अष्ट्रेलियामा नेपालीले राजनीतिमा प्रगति नगरेको भनेर व्यांग्य गरेका हुन कि जस्तो लाग्यो । यहाँ बसेर नेपालीको राजनीतिबारे खुब बोल्ने र लेख्ने तर यताकै नागरिक बनेर पनि रैथाने राजनीतिमा किन राज गर्न सकेनौं भन्ने अदृश्य प्रश्न उनले उठाएका होलान सायद ।
उनले घुमेका ठाउँको वर्णन जसरी गरेका छन, त्यसले पक्का मलाई जस्तै सबैलाई त्यहाँ घुम्न जारे रहर जगाउँछ । बोनडाई विच होस वा कटुम्बा, किआमाको ज्वालामुखी मुहान वा पिनाकल डेजर्ट । आउँदा दिनमा मेरो घुम्ने ठाउँहरुको लहरमा यिनीहरुलाई पनि नयाँघरेले थपिदिएका छन् । बोनडाई विचमा तरुनीका पासुला देखेर जे कथे उनले, यसले उनले जवानी ढल्केको छैन भन्ने संकेत गर्यो ।
तर उनको नियात्रा कता कता सम्पादनमा चुकेको हो कि भन्ने लाग्छ । उनले अष्ट्रेलियामा अक्टोबरमा जाडो हुने कुरा उल्लेख गरेका छन् जुन सत्य पक्का हैन । उनले र्याप (wrap) लाई बर्गर भनेका छन् । अष्ट्रेलिया धेरै नघुमेका कारण अन्य ठाउँका विवरण ठीक छन् वा छैनन, मैले भन्न सकिन तर दक्षिण अष्ट्रेलियाका केही तथ्य भने लहैलहैका भरमा हालेका छन् उनले ।
दक्षिण अष्ट्रेलिया गुमाई क्रममा मात्र होला उनको भेट पुनर्वासमा आएका भुटानी सित भएको । त्यसैले होला भुटानीबारे उनले सत्य जानकारी दिन नसकेका । उनले दक्षिण अष्ट्रेलियाको सल्सबरी नर्थ सबर्बमा मात्र १९ हजार भुटानी बस्छन भनेका छन जुन असत्य हो । यहाँ १९ हजार भुटानी बस्दैनन, सल्स्ब्री नर्थमा दशौहजार भुटानीको घरबास छैन । अष्ट्रेलिया भरमै पनि पुनर्वास हुने भुटानीको संख्या १० हजार पुगेको छैन ।
यहाँ रहँदा उनले भुटानीहरुको जीवन शैली र लगावको खुब प्रशंसा गरेका थिए । उनीहरुले गरेको प्रगतिको कथा आफ्नो नियात्रामा उल्लेख गर्ने विश्वास दिलाएका थिए । परिणाम आउँदा यहाँ भएको एउटा प्रगति ‘भुटानीज ईथ्निक स्कुल’ बारे एक अनुच्छेद बाहेक उनले केही लेखेनन् । मैले प्रशंसा नै लेख्नु पर्छ भन्ने मानिन, सुधार गर्नु पर्ने ठाउँहरु देखाईदिए पनि त हुन्थ्यो । अहँ केही बोलेनन् ।
उनले दक्षिण अष्ट्रेलियाको हेन्ले विचका घर १८०० मा बनेको भने जुन वास्तवमा १८७०को दशकमा बनेका हुन् । अनि एडिलेडमा रोबोटले विरामीको उपचार गर्ने, औषधी खुवाउने अस्पतालको उल्लेख गरे जुन मैले देखेको छैन ।
यसता मसिना त्रुटीहरु अन्य राज्यका ठाउँको वर्णनमा पनि परेका होलान । सम्पादनका क्रममा तथ्य सही हुन् हैनन् भन्ने मिनिनेत गरेको भए सायद पुस्तकको स्तर बढ्ने थियो । साहित्य र नियात्रा भए पनि सही तथ्य उल्लेख गर्नु उपयुक्त हुने देख्छु ।