रिजाल र नेतृत्व
कुरा हो भुटानको प्रजातान्त्रिक आन्दोलन र यसको नेतृत्वको । विषय बन्यो यस आन्दोलनका शीर्ष पुरुष मानिने टेकनाथ रिजालको पछिल्लो अन्तर्वार्ता । धेरैले यसलाई नकरात्मक माने, थोरैले सन्तुलित विचार दिए तर ठीकै हो भन्ने सार्है कम भेटिए । व्यक्तिगत अवस्था, पारिवारिक परिस्थिति र बेमेल नेतृत्वले निम्त्याएको भावावेश अभिव्यक्ति हो यो र यसलाई सामान्य मान्नु पर्छ भन्ने लाग्छ मलाई ।
कुरा गरौं नेतृत्वको । भुटानको प्रजातान्त्रिक र मानव अधिकारको आन्दोलन परिपक्क नेतृत्व र सचेत जनमानस बिनै सुरु भयो र अन्त पनि हुदैछ । भुटानको सन्दर्भमा यो दोस्रो असफल प्रयास हो । हामी हतारमा उपलब्धि खोज्ने समाज परेछौं सायद । हामी आफ्नो कमजोरीको दोष अरुलाई लाउने समाजका परेछौं सायद । हामी उपलब्धि बारे चर्चा गर्ने हैन, कमजोरी बारे बोल्ने परेछौं । हामी भविष्य खोज्ने हैन, विगत कोट्याएर रुने परेछौं ।
रिजालको भाव भङ्गीमा आवेश छ, आफूले गरेका केही ठूला कामको धङ्धङी पनि छ । रिजाल भुटनाको लोत्साम समुदायले निर्माण गरेको नेतृत्व हैन, दरवारले दक्षिण भुटानमा खोजेको आज्ञापालक व्यक्तित्व हो । उनले त्यो व्यक्तित्व सर्वहितका लागि परिवर्तन गर्न सकेनन । जुन दिन दरवारले उनको उपादेयता सकिएको संकेत गर्यो, हामीले त्यसलाई आफ्नो नेतृत्व ठान्यौं । रिजाल एक एक प्रतिनिधि पात्र मात्र हुन, भुटानको प्रजातान्त्रिक र मानव अधिकारको अन्दोलन त्यही कमजोर जगमा उभिएको धुमिल आवाज हो । हामीले त्यसलाई युगान्तकारी परिवर्तनको गर्जन ठान्यौं ।
हामीले मानेको नेतृत्व न हामीसित कहिल्यै नजिक रह्यो, न हामीले सुझाएको कुरा सुन्न आयो । गर्न जान्नेहरुले समाजलाई सुनेन्, समाजलाई सुन्नेहरुले गर्न जानेन् । हामीले फराकिलो दिल र दूरदृष्टि भएको नेतृत्व जान्माउनै सकेनौं । हामीले राष्ट्र निर्माणको एजन्डा र समाज परिवर्तनको खाका लिएर अघि हिड्ने व्यक्ति नै भेटेनौं । हामीले भेट्यौ त केवल व्यक्तिगत मनमुटाव र पारिवारिक टकराव राख्ने नेतृत्व । हामीले भेटेको नेतृत्व दश रुपयाँमा लड्यो, दुई लाईन कस्ले लेखेको भनेर लड्यो, सहकर्मीलाई कमजोर बनाउन लड्यो अनि आफू कसरी ठूलो ठानिने भन्नेमा लड्यो ।
लड्ने क्रममा केही राम्रा काम पनि भए तर राम्रो कामको श्रेय पाउने क्रममा चुक्यो त्यो नेतृत्व । यसमा यो आन्दोलनको पहिलो पुस्ताको नेतृत्व मात्र हैन, दोस्रो पुस्ताको नेतृत्व पनि चुकेको हो । परिस्थिति बनेन वा सही अभिभावकत्व मिलेन, दोस्रो पुस्ताले पनि आफ्नो चातुर्यता देखाउन सकेको पटक्कै छैन । अग्रजका कमजोरीलाई गाली दिन हैन, तिनका सबल पक्षलाई ग्रहण गर्न सक्नु पर्ने थियो । त्यसको सुरुवात भएको होला तर सुसुप्त अवस्थामा ।
रिजालको आवेशमा उनको कमजोरी त देखिन्छ नै, उनले गरेका राम्रा काम र सहेका अमानवीय यातना पनि देखिन्छ । उनको अनुपस्थितिमा अरुले उनका प्रति राखेको सद्भावको अवमुल्यन गर्नु र सहकर्मीप्रति आक्रोस पोख्नु उनको कामजोरी पक्का हो । यद्यपि उनको त्यही कमजोरीलाई नै सबैथोक देख्ने हामीले आफूलाई उनीभन्दा फरक कसरी बनायौं र । मलाई के थाहा छ भने हाम्रो नेतृत्व न त्यो गालीले परिवर्तन हुनेछ न त अरुका गुनासालाई सुझावका रुपमा लिन तयार छ । हाम्रो नेतृत्व गुनासा र सुझावलाई प्रतिद्वन्दिको खेमामा राखेर हेर्छ । मैले दक्षिण अष्ट्रेलियामा यो साल हाम्रो नेतृत्वको यो मनोदशालाई प्रत्यक्ष परीक्षण गरेरै हेरेको छु । मेरो विश्लेशण हो, हामी सबल नयाँ नेतृत्व निर्माण गर्ने अभियानमा छौं भने पुरानालाई सुजाव दिन रोक्नु पर्ने रहेछ । रिजालको अन्तर्वाता पछि उनलाई दिइएका सुझावले उनको व्यक्तित्वमा झिनो परिवर्तनको आश नगरे हुन्छ ।
म फेरी दोहोर्याउँछु, रिजाल हाम्रो नेतृत्वको चरित्रलाई व्याख्या गर्ने एक प्रतिनिधि पात्र मात्र हुन् ।
नेतृत्व निर्माण तत्कालिन समाजले गर्ने हो । सामाजिक चेतना भन्दा फरक अलौकिक नतृत्व हामीले निर्माण गर्न सक्दैनौं । नेतृत्व समाजको चेतनाको प्रतिबिम्ब हो, सभ्यताको प्रतीक हो । नेतृत्व कला हो, यसलाई निखार्न जान्नु पर्छ । निखार्न अरुका असक्षमता हैन, आफ्नो कमजोरी पहिल्याउनु पर्छ । भुटानको मात्र हैन, मानव सभ्यताको हरेक युगमा हामीले नेतृत्वको इतिहास हेर्यौं भने सिक्ने त्यही नै हो । सबल, सक्षम र युगान्तकारी नेतृत्वको अपेक्षा हामी राख्छौं भने हामी चेतनशील र बौद्धिक सामाजिक निर्माणका लागि दत्तचित्त भएर लाग्नु पर्छ ।