द्वन्द सम्वाद: बाजे-नाति

बाजे: दारी पाकीसके, तै पनि तेरो निन्द्रा खुलेको छैन । यो पाराले आफैलाई बदल्ने ह्याउ राख्दैन, समाज कसरी बदल्ने कल्पना गर्ने?
नाति: समाज बदल्न, आफू बद्लिनु पर्छ । समाज बदल्नु भनेको हिजोको परिस्थितिलाई आजसम्म तनकाउनु हैन, आउने भविष्यका लागि मार्ग चित्र तयार पार्नु हो । समाज बदल्न भोलिको विचार राख्नु पर्छ, हिजोको हैन ।
बाजे: ईतिहास र विगत विर्सेर कसरी आगत तयार हुन्छ? विगत आगतका लागि प्रस्थान विन्दु हो । विन्दु विना यात्रा कसरी सुरु हुन्छ ?
नाति: त्यसमा मेरो सर्वसम्मति । तै पनि विगतकै परिवेश, व्यवस्था र सोच आगतमा पनि रहन्छ भने कसरी त्यसलाई नयाँ समाज भन्ने । त्यसलाई बदलिएको समाज कसरी भन्ने?
बाजे: परिवार वा सानो समुदाय हैन, देश बदल्ने महान क्रान्तिमा हामी होमिएका हौं। हामीले थालेको त्यो अभियान जारी छ र जारी रहनु पर्छ । हाम्रो शरिरले थकान लेला तर अभियान र सोचले विश्राम लिन मिल्दैन ।
नाति: बृद्ध भत्ता खान थाल्नुभो । अब कसले तपाईको अभियानको मियो समाईदेला?
बाजे: त के होस । पुर्खाको विडो थाम्न नसकने निम्छरो बन्न नखोज । बाबुको विरासत थाम्नु कुलीन धर्म हो । विरासतको मियो जसले धान्छ, उसले बाजुञ्जेल सामाजिक सुख भोग गर्छ, मरणोपरान्त स्वर्गमा सम्मान पाउँछ ।
नाति: देखेको र भोगेको जिन्दगीकै मलजल गर्न सकेको छैन, नदेखेको काल्पनिक स्वर्गका लागि तयारी थाल्नु मुर्खता हैन र!
बाजे: सधै देखेको र भोगेको मात्र सत्य हैन । सत्य सधै प्रत्यक्ष हुन्न । अदृश्य र अप्राप्य सबै काल्पनिक हैनन् । अदृश्य र अप्रत्यक्ष विषय प्राप्तिको कामना गर्नु मुर्खता हैन, तीक्ष्णता हो । विद्वता हो ।
नाति: तपाई विषयबाट भड्किनु भो बा! हामी भुटानको प्रजातान्त्रिक आन्दोलन र यसको उपलब्धिको संवादमा थियौं । तपाई मृत्युपर्यान्तका तर्कना गर्न थाल्नु भो ।
बाजे: तैले भुटान देखेको छस?
नाति: जन्मेको हु, माटो देखेको छु, चाखेको छु, देश देखेको छैन ।
बाजे: तँ सायद २ वर्षको थिइस हामीले त्यस धरतीबाट विदा माग्दा । कसरी थाहा पाउँथिस ।
नाति: नजान्दै त्याजेर हिडेको एउटा सानो भुगोलको याद कतिसम्म गर्नु?
बाजे: माटोको मायाँ गर्नुपर्छ । जन्मभूमी आमा हुन् । त्यो भुगोल आफन्त हो । त्यहाँको प्रकृति, जीव-जनवार मित्र हुन, नातेदार हुन् । आफ्नो जन्मभूमी र जन्मदात्री नसम्झने पातकी हुन्छन् । माटोको माया गर्नु परम धर्म हो ।
नाति: त्यो भावना हो । एक किसिमको नातावाद । भावना व्यवहारिक नहुन सक्छ । व्यावहारिक जीवन खुशी र सुखी हुन्छ, भावनात्मक जीवन हरियो चौर जस्तै हो – उत्पादन दिन नसक्ने तर रमणीय देखिने । व्यावहारिक भावना भए सुनमा सुगन्ध हुन्छ ।
बाजे: त मलाई भुटान बिर्सि भन्दैछस्?
नाति: छैन । पटक्कै छैन ।
बाजे: आशय के त?
नाति: भावना बदल्नुस् ।
बाजे: त्यो हुनै सक्दैन । त्यो म हुर्केको मुलुक हो । मैले पसिना बगाको छु । मेरा पुर्खाको हाड मकाको छ त्यो देश बनाउदैमा । बादरे जंगलाई हामीले हराभरा बनायौं । तितेपातिको ठाउँमा तोरी फुलायौं । उन्युको ठाउँमा कुन्यु ठड्यायौ । जंगललाई शहर बनायौं, देशलाई समृद्ध बनायौं ।
नाति: म हुर्केको माटो र मैले पसिना बगाएको मुलुक फरक हो । आफूले गरेको मेहतनले माटो आफ्नो बन्ने भए त खाडी पसेका सबै नेपालीले त्यतै नयाँ मुलुक खडा गर्थे होलान ।
बाजे: पैसाको लागि गरिएको परिश्रमले माटोसित नाता गास्दैन । माटोसितको नाता पुस्तौं लामो भावनाको सदृश्य सम्बन्ध हो । माटोसितको नाताले हाम्रो गौरब गाथा समेट्छ, हाम्रो पौरख देखाउँछ र तिलश्मी संस्कारको बिम्ब दर्शाउँछ ।
नाति: यो शाश्वत सत्य हो माटो कसैको पनि हुदैन । मानवीय भावना सानो भूगोलभित्र बन्दी बन्नु हुन्न । भावना मानवता सित गासिनु पर्छ । निर्जिव माटोसितको सम्बन्धले हामीलाई संकुचित घेराभित्र धकेल्दैछ । हामी पूरा विश्वबाट देश, देशबाट राज्य, राज्यबाट गाउँ, गाउँबाट करेसो र जुठेल्नोमा सांघुरिदैछौं ।
बाजे: तेरो बाबु मारिएको छ । आमा बलात्कृत बनेकि छ । आफन्तजन बेपत्ता छन् । तेरो मामा पिंजडा जस्तै जेलमा जन्मकैद भोग्दैछ । काकाको ढाड हेर आर्मीका बुट्का छाप ताजै छन् । हजारौ आफन्त वियोगले बौलाएका छन् । त्यो कुनै भुल्न सक्ने दन्त्य कथा हैन । यसै जुनीमा हामीले भोगेको पीडा र बेदनाको गाथा हो । हामीले आफू जन्मे हुर्केको माटो आफ्नो भन्न पाएनौं ।
नाति: जजस्ले त्यो जुनी गुजार्नु पर्‍यो, उनीहरु हाम्रो लागि अनुकरणीय हुन् । हामी त्यो योगदान भुल्ने कल्पना पनि गर्न सक्दैनौं । उनीहरुको योगदानको करद गर्दै म त्यो भन्दा फरक अन्दाजमा परिस्थिको निकास खोज्दैछु । हजुरले नै मलाई बाताउनु भएको हो हाम्रो पुर्वीय दर्शनको भावार्थ – पत्थरको जवाफ फूलले दिनु पर्छ। मुर्खलाई बलले हैन, विवेकले सिकाउनु पर्छ । के हाम्रो व्यावहार दर्शनले निर्देशित हुनुपर्दैन?
बाजे: तेरो नियत तानाशाह प्रेरित छ । तेरो भावभङ्गी हाम्रो मेहतनलाई तिलाञ्जली दिने दिशामा छ । आढ्यहरुको लगौटी बन्दैछ, रजवाडाको गोटी बन्दैछ । तलाई इतिहास पढाउन खोज्नु मेरो मुर्खता हो ।
नाति: तपाईहरुले खोजेको खुला समाज, सामाजिक न्याय, स्वतन्त्र अभिव्याक्ति, बहुल विचार हैन र । छोटकरीमा त्यसलाई प्रजातन्त्र नामले पुकार्छन् ।
बाजे: भुटानमा प्रजातन्त्र आयो त? हामीले त्यसको भोग गर्न पायौं?
नाति: तपाईको अभियान आफ्नो लागि थियो कि दर-सन्तानको लागि?
बाजे: मैले नभोगी दर-सन्तानमा कसरी पुग्छ?
नाति: तपाईको माग पूरा भएको भए नयाँ व्यावस्थाको नेतृत्व कस्ले गर्थ्यो?
बाजे: म गर्थे । मलाई कम आकेको छस् ?
नाति: छैन । तर एउटै प्रश्नमा म अड्केको छु । जाबो म एउटाको फरक विचार स्वीकार गर्न नसक्ने तपाईले बहुलविचारमा हुर्किएका अनेकथरी विचार र कुविचारलाई कसरी थेग्नु हुन्थ्यो?
बाजे: परिस्थितिले मान्छे पाक्छ, व्यवस्था आफै सुध्रन्छ ।
नाति: मान्छे पाके मर्छ, विचार पाके समाज बदलिन्छ । समाज बदलिनु र व्यवस्था सुध्रनु एउटै हो । हिजो तपाईका पालामा तपाईले उठाएका विषय ठीक होलान । आज समयले कोल्टे फेर्‍यो । हामी अर्कै भूगोलका स्थायी बासिन्दा गनिसकियौं ।
बाजे: तैले इतिहास पढेकै छैनस् । हाम्रो विगत खोज । आज र भोली हिजो कै निरन्तरता हो । हिजो बुझिस भने, आज बुझ्छस, भोली बनाउछस् । पढेर आईज, तर्कमा पलेटी कसौंला ।
(नाति पुस्तकालय पस्यो, बाजे ओछ्यान पसे)

Leave a Reply