कथा १७ दिसम्बरको

भुटानको राष्ट्रिय दिवस १७ दिसम्बर मनाउनु हुने वा नहुने भन्ने बहसमा तर्क र वितर्कहरु धेरै आए । छलफलको यो पहिलो परिक्षण हो यो हाम्रो सन्दर्भमा । पुनर्स्थापित भुटानी समुदाय तीन भागमा बाडियो – पक्ष, विपक्ष र तटस्थ । चाहेर वा नचाहेर भुटानसंग संबन्धित धेरै विषयमा हामी भविष्यमा यसरी नै बाडिने छौ । बाहुबलले, गाली गलौजले वा स्वास्थ्य बहस – कुन तहमा विभाजित हुने भन्ने मात्र फरक हो । १७ दिसम्बर र अन्य भुटानसित प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमको आयोजना गर्दा हामीले विविध पक्षलाई ख्याल गर्नु पर्छ ।

पिडित पक्ष
हुन त हामी सबै भुटान सरकारको अमानवीय व्यावहारबाट पीडित हौ । कसैको पीडा बढी होला कसैको कम । कसैले धेरै महसुश गरे कसैले थोरै । पीडालाई बोध गर्ने भावनात्मक क्षमता कसैमा अधिक र कसैमा कम होला । पीडालाई कुन तहसम्म भावनात्मक बनाउने भन्ने पक्षले हामीमा भुटानको राजसत्ताबारे धारणा निर्माणमा भुमिका खेल्छ । जसले आफ्ना परिवार गुमाएको छ, यातना भोगेको छ, उसमा भुटानको राजसत्ता प्रति वितृष्णा जाग्नु स्वभाविक हो । भुटानको पक्षमा खुल्ला वकालत गर्नेले ती परिवार र व्यक्तिको भावना र अन्तर्मनसित साक्षात्कार गर्न सक्नु पर्छ । आफ्नो खुशी र भविष्य लुट्ने तानाशाहलाई कुनै पनि मानव हृदयले जयजयकार गर्न सक्दैन । १७ दिसम्बर भव्य बनाउनेहरुले सायद यी पीडित परिवारको गुनासो र तर्कलाई गंभीर रुपमा लिन र उनीहरुको चिन्तालाई सम्बोधन गर्न सके माहौल सकरात्मक बन्थ्यो ।

इतिहास
कुनै प्रमाण नै त फेला परेको छैन तर भुटानमा राजतन्त्र स्थापना गर्नमा त्यहाँका नेपाली भाषीले पनि योगदान गरेको थिएनन् भन्न मिल्दैन । थोरै होला तर भुटानलाई स्थायित्व दिन राजतन्त्रको आवश्यकता महशुस गर्ने भुटानी नेपाली पनि पक्का थिए । वाड्छुक वंश स्थापनाका बेला नेपाल सरकारको समर्थन जुटाउन ल्होत्सामपाहरुको एउटा टोली नै सन् १९०७ सालमा नेपाल आएको केहि इतिहासकारहरुले उल्लेख गरेका हुन् ।

१७ दिसम्बरले ‘भुटान’ दिएको ईतिहास हामीले जतिसुकै तर्कना गरे पनि मेटिने हैन । १७ दिसम्बर नआएको भए सायद भुटान भारतको वा चीनको अधिनस्त हुन्थ्यो आज । हामी चीनले गाभेको भए तिब्बती शरणार्थी हुन्थ्यौं होला या भारतले गाभेको भए गोर्खाल्याण्डको आन्दोलमा हाम्रा कति आफन्तले ज्यानको बाजी मार्ने थिए । यी त संभावनाका कुरा भए । उगेनले सबलाई जिते अनि हाम्रा जिजु बाजेले तिनलाई समर्थन गरेर नै हामी भुटानी बनेका हौ । वाङ्छुकहरुले त्यो आँट नगरेको भए हाम्रो परिचय आज कहाँ भुटानी हुन्थ्यो र । आज जति घृणा गरे पनि हामीलाई भुटानी परिचय दिनमा वाङ्छुकको योगदानलाई कमी ठान्न हुन्न । ठानेमा त्यो कुतर्क हुनेछ ।

यसको विपक्षमा उभिनेको तर्क हुन सक्ला – वाङ्छुकले हामीलाई परिचय दिएको हैन, उनीहरुको परिवारको सत्ता स्थापना गरेको हो । वास्तविकता के हो भने, ठूलो समाजको अस्तित्व र परिचय यीनै थोरै व्यक्तिको सत्ता स्वार्थले बनाउने हो । पृथ्वी नारायण शाहले आफू ठूलो देशको राजा बन्ने सपना बोकेर अरुमाथि आक्रमण नगरेको भए हाम्रा पुर्खा पनि कहाँ नेपाली बन्थे र । अष्ट्रेलिया, अमेरिका वा भारतमा केहि बेलायतीहरुले स्वार्थ नसाधेको भए ती देश र ती समाज बन्थेनन । अष्ट्रेलिया र अमेरिकामा बेलायतीले यहाँका आदिवासीबाट उनीहरुको देश नै खोसेका हुन । आज उनीहरुको संस्कृति, परम्परा, भाषा र जातीयता किनारा लागेको मात्र हैन अबको समाजले जिम्मेवारी बोध गरेन भने मासिन पनि सक्छ । मेरो विचारमा देशबाट लखेटिनु भन्दा आफ्नै देशमा विदेशीको खटन सहनु ठूलो पीडा हो ।

तर अष्ट्रेलिया र अमेरिकामा नयाँ समाजको निर्माण भैसकेको छ । युग परिवर्तन भैसकेको छ । गल्ती हो भनेर पनि त्यसलाई उल्टाउने सम्भावना छैन । भुटानमा पनि ‘भुटान’को परिचय बनाउने ऐतिहासिक दिन १७ दिसम्बरलाई हाम्रा कुनै पनि गतिविधि, गाली वा तर्कनाले परिवर्तन गर्न सक्दै सक्दैन ।

मनाएको १७ दिसम्बर
भुटानप्रति हाम्रो आक्रोस आज जति छ, यो भन्दा सयौं गुणा बढी हामी लखेटिएर नेपालमा शरण लिदै गर्दा थियो । यद्यपी हामीले त्यसबेला १७ दिसम्बरको विरोध गरेनौं । हामीलाई हरेक विहान भुटानको राष्ट्रिय गान गाउन लाईयो, हरेक वर्ष १७ दिसम्बरमा परेड खेलाईयो । राष्ट्रिय गान मार्फत हामीलाई हरेक दिन भुटानको राजतन्त्रको प्रशंसा गर्न लगाईयो । होला, हामी गाउने र गाउन लाउनेले राष्ट्रिय गानमा रहेको त्यो प्रशंसा स्पष्ट बुझेनन् । तर राजपरिवारकै भाषा जोंखालाई पाठ्यक्रममा राख्नु भनेको ङालोङको राजसत्तालाई स्वीकार गर्छु भनेको हो नि त ।

विद्यार्थी हुदै पुनर्स्थापित हुनेहरुले भुटानको विपक्षमा बोल्दा जति स्वभाविक देखिन्छ, त्यति स्वाभाविक त्यहाँ शिक्षक बनेर वा कारितास नेपालको जागिरे बनेर पनि राष्ट्रिय गान र जोंखा पठन पाठनको विपक्षमा नबोल्नेहरुको तर्कमा देखिदैन । हामी भविष्यको सुनिश्चतता र विकसित मुलुकको नागरिक बनेपछि भुटान र भुटानी राजतन्त्र माथि हेला होचो गर्ने हो र उप्रतिको हाम्रो दृष्टिकोण परिवर्तन गर्ने हो भने हामी पनि काम लागुञ्जेल प्रयोग गर्ने र काम सकेपछि फाल्ने भुटान भन्दा फरक पटक्कै बनेनौं । हामी उसलाई नै गाली गर्छौं तर उसकै प्रवृति आत्मासात गर्दैछौं ।

नेपाली खेदाउने राजा हो?
ड्रुक नेसनल कांग्रेसका संस्थापक रङथङ किन्ले दोर्जी भुटानी राज परिवारका नातेदार हुन् । भुटानमा प्रजातन्त्र र मानव अधिकार स्थापनाका लागि उनको योगदान निकै महत्वपूर्ण छ । उनले आफ्नो जीवन भोगाई र भुटानको प्रजातान्त्रिक आन्दोलनका बारेमा पुस्तक लेखेका छन् । उनको जीवनकालमा पुस्तक प्रकाशित हुन सकेन । उनको मृत्यु पर्यान्त प्रकाशनको तयारी भैरहेको छ । सो पुस्तकको सम्पादन गर्ने सौभाग्य मिल्यो । राजा र राजपरिवारको नजिक रहेर भुटानको राजनीति नियालेका दोर्जीको पुस्तक प्रकाशनमा आउन सकेछ भने भुटानी राजाको पुर्वी र दक्षिणी भुटानीबारेको धारणा सबैले बुझ्न पाउने छौं ।

प्रवासमा रहेर हामीले १७ दिसम्बर मनाउने र राष्ट्रिय गान गाउने बाहेक भुटान र भुटानी राजतन्त्रबारे जे सुन्यौ, त्यो नकरात्मक मात्र थिय । भुटानले उतै बसेका नागरिकमा हाम्रा बारे जुन प्रचार गरियो, तो पनि नकरात्मक मात्र थियो । हामीलाई प्रत्यक्ष बसेर एक अर्काको कुरा सुन्ने र सत्य पत्तो लाउने अवसर मिलेको छैन । मिलेमा पनि हामीलाई हाम्रो प्रतिनिधि छान्नमा मारा मार गर्नु पर्नेछ ।

विचार निर्माण
बिबिसिमा क्रिष्टियन जेराड लेख्छन, व्यक्तिमा विचार निर्माण उसको बालापन र युवा अवस्थामा हुन्छ । हाम्रो विचार, भावना र स्वाभाव हामीले बाल्यकालमा सुनेका, देखेका र सिकेका कुराले ठुलो प्रभाव पार्छ । अमेरिकाको National institute of health ले प्रकाशित गरेको ईलिनोइस विश्वविद्यालयका मनोवैज्ञानिक रोडिका डामियन र उनको समूहले गरेको एक अध्यायनले पनि बाल वा युवा अवस्थामा सिकेका कुराले नै हाम्रो बाँकी जीवनका लागि विचार र व्यावहार तय गर्छ भनेको छ । २०१८ मा नर्वेली बैज्ञानिक लिया फ्रेसम्यान र उनको टोलीले गरेको अध्यायनले भनेको छ, युवा अवस्थामा हामीले गर्ने संगतले हाम्रो व्याक्तित्व निर्माण गर्छ । यसरी निर्माण भएको व्यक्ति्व, विचार र सोच परिवर्तन हुदैन बरु परिपक्क बन्छ । यस्तै धेरै अध्यायनहरुको कारण हो विकशित मुलुकमा बालबालिकालाई गाली गर्ने वा पिट्ने भन्दा पनि तर्कका साथ बुझाएर सकरात्मक सोचको विकास गर्न खोजिन्छ ।

हुर्कदै गर्दा हामीलाई भुटान र भुटानको राजतन्त्रबारे सकरात्मक सोच बनाउने मौका नै मिलेन । भुटानकाले हाम्रो बारे राम्रो सोच्ने वातावरण नै पाएनन् । त्यसैले हामी एक अर्कालाई नचिनेरै दुश्मन बनेका छौं । माथि उल्लेख गरिएका अध्यायनहरु सही हुन भने हामी दुई पक्ष एक अर्का प्रति सकरात्मक बन्न असम्भवप्राय छ । १७ दिसम्बर आयोजना गर्नेहरुले यसबारे आएका नकरात्मक टिप्पणीलाई आफूमाथिको आक्रमण ठान्नु हुन्न ।

सकरात्मक पाटो
गत २ वर्ष यता भुटानले शरणार्थी मामलालाई सुल्टाउन नेपाल समक्ष कैयन अनौपचारिक प्रस्ताव पठाइ सकेको छ । पुनर्स्थापना पछि ठूलो समूहले भुटानको मानव अधिकार हननका बारे विकशित मुलुक र संयुक्त राष्ट्र संघमा बारम्बार आवाज उठाउन थालेपछि भुटान आफ्नो छवि थप धमिलिन नदिन शरणार्थी समस्या सुल्झाएर डायस्पोरा प्रति सकरात्मक बन्ने संकेत देखाउदैछ । हामीले उठाउने हरेक प्रश्न र विरोधले भुटानलाई थप दबाब पुग्ने छ । यसले उसलाई गल्ती महसुस गर्न सहयोग गर्ने देखिन्छ । हामीले देश छाड्दै गर्दा १९९१ को संसद अधिवेशनमा राजा जिग्मे सिंगेले भनेका थए, दक्षिण भुटानको समस्या समाधान गर्न नसके सत्ता छाड्छु । समस्या समाधान गर्न सकेनन् र सत्ता छोरालाई सुम्पिए । नयाँ राजा त्यही बाटोमा जाने छनक कम छ ।

अमेरिका अहिले चीनमाथि दबाब बढाउन उसको छिमेकी भुटानको समर्थन लिन र कुटनीतिक सम्बन्ध विस्तार गर्न उद्यत छ । कुटनीतिक सम्बन्ध स्थापना गरे चीन, भारत र अमेरिकाको त्रिकोणीय युद्धमा फसने खतरा छ भने सम्बन्ध स्थापना नगरे आफ्नो विरुद्ध डायसपोरालाई जुरुक्कै बोक्ने खतरा देखेको छ । यही रणनीतिक तर अदृश्य द्वन्दले भुटानलाई हामी र दक्षिण भुटानी प्रति सकरात्मक बन्न सिकाउँदैछ ।

अब के
पनर्स्थापित भैसके पछि हामी भुटानबाट टाढीदैछौं । आफू बसेको देश पछि हामी नेपाल प्रति बढी नजिक छौं । तै पनि भुटानी लेख्न छाडेका छैनौं । नेपालका हरेक घटनाबारे हामी सुचित छौं तर भुटानका एकाध । भुटानसितको हाम्रो सामिप्य नबढेको खण्डमा कालान्तरमा हामी भुटानी रहदैनौं र हामीलाई भुटानी भन्ने अधिकार रहदैन पनि ।

भुटानी रहन हामीले भुटान सितको सम्बन्धलाई कायम राख्नु आवश्यक छ । तर सम्बन्ध कायम राख्ने उपाय १७ दिसम्बर मनाउनु र राजाको गुणगान गाउनुको विकल्प खोज्नु जायज होला । अनि एउटा राजाले हामीलाई लकेटेको कथा बोकेर भुटानको राजवंश नै खराब हो भन्ने तर्क पनि मनासिब हैन । बहस व्यक्तिगत आक्षेप हैन वजनदार र उपलब्धिमुलक बनोस । नयाँ वर्षको शुभकामना ।

Leave a Reply